काठमाडौं, नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन् ।
निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई पुस १० गते प्रमाणपत्र वितरणको तयारी अघि वढाएको हो । महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। मत परिणामअनुसार नव निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ।
निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन्। दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन्


