कास्की,प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनोट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । गत पुस ९ गतेदेखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएर आज सम्पन्न छनोट प्रतियोगिताअन्तर्गत अन्तिम दिनको खेलमा नवलपुरमाथि नौ विकेटको जित निकाल्दै कास्की च्याम्पियन बनेको हो । स्याङ्जा, तनहुँ, कास्की र नवलपुर गरी चार जिल्लाको सहभागिता रहेको प्रतियोगितामा कास्कीले शतप्रतिशत नतिजा निकालेको थियो ।
खेलको सुरुआतमा ब्याटिङ गरेको नवलपुरले निर्धारित ४० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाएर १३० रन बनाएको थियो । नवलपुरको तर्फबाट दीपक डुम्रेले ३१ तथा रोविन तिमिल्सिनाले २३ रनको योगदान दिनुभयो । कास्कीका बलरहरु विपिन खत्रीले चार, कृष्ण पौडेलले तीन तथा दीपेश खत्रीले दुई विकेट लिनुभयो । खेलमा जितका लागि १३१ रनको लक्ष्य पाएको कास्कीले ३० दशमलव चार ओभरमा जम्मा एक विकेट गुमाएर लक्ष्य भेट्यो । कास्कीको तर्फबाट विधान श्रेष्ठले अविजित रहँदै ४३ तथा मुस्कान थापाले अविजित ४० रन जोड्नुभयो ।
यसअघि सुरुआती ‘ब्याट्स्म्यान’ अनिल गुरुङले ३२ रनको योगदान दिनुभयो । खेलमा चार विकेट लिन सफल कास्कीका कप्तान विपिन खत्री ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । प्रतियोगितामा कूल सात विकेटसहित ३० रन बनाउनुभएका कास्कीका कृष्ण पौडेल सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । त्यस्तै प्रतियोगिताभर १४५ रन जोड्नुभएका कास्कीका अनिल गुरुङ उत्कृष्ट ‘ब्याट्सम्यान’ बन्दा नवलपुरको तर्फबाट सात विकेट लिनुभएका कमल परियार उत्कृष्ट ‘बलर’ घोषित हुनुभयो ।
विजयी खेलाडीलाई पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइराला, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्सन प्रजुलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुस अन्तिम साता राजधानी काठमाडौँमा सञ्चालन हुने प्रधानमन्त्री कप क्रिकेटका लागि गण्डकी प्रदेशको टोली छनोट गर्न प्रदेश क्रिकेट सङ्घले छनोट प्रतियोगिता आयोजना गरेको हो । केही दिनमै खेलाडीको व्यक्तिगत प्रदर्शनका आधारमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा खेल्ने गण्डकी प्रदेशको टोली घोषणा गरिने सङ्घले जनाएको छ ।


