Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

गत मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बङ्गलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

उक्त प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । त्यस्तै पुरुषतर्फ खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएका छन् । सरकारले उक्त च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही रु पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही रु तीन लाख दिने निर्णयसमेत गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय