काठमाडौँ, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड आज नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उहाँको नियुक्ति गरेको हो ।
सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नुहुने छ । उहाँ यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाका स्थानमा नियुक्त हुनुभएको हो । मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिश गर्ने विशेष सल्लाहकार दुगडले राससलाई बताउनुभयो ।
“औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ”, निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले स्पष्ट गर्नुभयो ।
सही बजेट विनियोजन, आयातनिर्यात, शेयर मार्केट, बैकिङ, राजश्व आदि विषयमा पनि आफू केन्द्रित हुने उहाँले जानकारी दिनुभयो । विराटनगर स्थायी निवास हुनुभएका पूर्वसांसद दुगड यसअघि नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा९एमाले० हुँदै नेपाल कम्युनिष्ट पार्टी-नेकपा_सँग आबद्ध हुनुहुन्छ ।