काठमाडौँ, प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफको पनि सुरुआत खराब थियो । ८१ रन जोड्दा ६ विकेट गुमाइसकेको उसको पारी तल्लो क्रमका ब्याट्सम्यानले सम्हाले र १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । कप्तान सरद भेषावकरले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन जोडे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका अमर रौतेलाले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरेर सर्वाधिक २९ रन बनाए ।
त्यसअघि लोकेश बमले १५ मा २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाएका थिए ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले तीन/तीन विकेट लिए । गुल्शन झाले २ तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १-१ विकेट लिए ।



