Saturday 2 December 2023 / शनिबार, १६ मंसिर २०८०

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले माइतीघरमा प्रदर्शन गरेको छ। शुक्रबार बिहान संसद बिघटनविरुद्ध प्रदर्शन गरेको हो।
प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नाराबाजी गरिरहेका छन्। संसद विघटनविरुद्ध आजदेखि नेकपाको प्रचण्ड–माधव पक्षले सडक संघर्ष चर्काउन सुरु गरेको हो। बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार नै प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो।
यसैबिच नेकपाको प्रचण्ड–नेपाल समूहले आज निर्वाचन आयोग र सर्वोच्च अदालतमा पार्टीका सबै केन्द्रीय सदस्य र सांसद जाने भएका छन्। पार्टीको अर्को पक्षले हठा्त आफ्नो संकट टार्न असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गर्ने र निर्वाचन आयोगमा समेत फर्जी कागजपत्र पेश गरेर सत्ता र शक्तिको दुरुपयोग गर्न खोजेपछि उनीहरु आज सर्वोच्च र निर्वाचन आयोग जान लागेका हुन्।
माइतीघर मण्डलामा जम्मा भएर उनीहरु सर्वोच्च जान लागेका हुन्। त्यसपछि मध्यान्ह १२ बजे कान्तिपथ स्थित निर्वाचन आयोग जाने तयारी गरेका छन्। प्रचण्ड र माधव नेपालले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा पनि सार्वजनिक गर्ने तयारी गरेका छन्।
‘सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ स्थायी समिति सदस्य भीम आचार्यले भने, ‘त्यही भएर अहिले हामी सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेका हौं।’
तत्कालिन एमाले र माओवादी केन्द्र मिलेपछि नेकपा बनाउँदा ऋषि कट्टेलले सर्वोच्चमा आफ्नो पार्टीको नाम नेकपा भएको र त्यो अतिक्रमण भएको दाबी सहित रिट दर्ता गरेका थिए।
त्यसपछि नेकपाले आफ्नो नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउने निर्णय लिएका थिए। अहिले पनि यो मुद्दा सर्वोच्चमा छ। तर जब नेकपाभित्र विभाजन आयो, तब ओली पक्षले अहिले यो नाममा सर्वोच्चमा रहेको मुद्धा योजनाबद्ध रुपमा फेरि अगाडी बढाएर आफु एमाले ब्यूँताउने र प्रचण्ड नेपाल समुहलाई नेकपा नामबाट पनि विमुख बनाउने योजनाका साथ गेम प्लान खेल्न खोजेको आशंका पनि ब्यक्त भईरहेका छन्।
सर्वोच्चले कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएमा एकता भंगको अवस्था आउने र सूर्य चुनाव चिन्ह देखि पूर्व एमाले ब्यूँताउने सम्मको काम हुने खतरनाक डिजाइन हुन सक्ने आशंका पनि ब्यक्त भईरहेको छ। त्यही आशंका चिर्ने, प्रतिगमनका विरुद्द संर्घषमा उत्रने निर्णय नेकपाको प्रचण्ड नेपाल समुहको छ। १४ पुसमा देशव्यापी आन्दोनल गर्न लागेको यो पक्षले आफ्नो समुह वैधानिक भएको र बहुमत नेता आफुसँग भएको प्रमाणित गर्नका लागि पनि निर्वाचन आयोग देखि सर्वोच्चसम्म जान लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय