उमा गिरी ‘बेबी’अभिनेत्री, निर्मात्री
सन् १९८४ मा भारतको साउथ सिक्किममा जन्मिएकी उमा गिरी ‘बेबी’ नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हो । सिक्किममा हुर्के बढेकी उमाको कर्मथलो नेपाल बन्नुको आफ्नै कथा छ । त्योभन्दा बढी उनले नेपाली चलचित्र क्षेत्रलाई पु¥याएको योगदान सराहनीय छ । उनको आफ्नै प्रोडक्सन हाउस उमा फिल्मस्ले हालसम्म तीनवटा चलचित्र प्रदर्शन गरिसकेको छ । ती हुन्, इसारा, सिसा, कहीँकतै ।
नेपाली चलचित्र क्षेत्रसँग उमाको पिरती गाँसिनुको पछाडि भने निर्देशक तुलसी घिमिरेको हात छ । उमा घिमिरेलाई आफ्नो ‘गड फादर’ मान्छिन् । कुरा हो उनी सिक्किममै छँदाताकाको । कालिङपोङमा नेपाली सिरियलका लागि अडिसन चल्दै थियो । उमा सिक्किमबाट अडिसन दिनका लागि कालिङपोङ पुगेकी थिइन् । उनलाई एउटा विषय दिएर डायलग बोल्न लगाइयो । उनले उक्त डायलग उत्कृष्टरुपमा प्रस्तुत गरिन् । अन्ततः सयौंको भिडबाट उनी छानिइन् ।
‘झझल्को’ सिरियलमा उनी त्यसरी अडिसन पास भएकी थिइन् । नेपाल वानबाट आउने उक्त सिरियलनै उमालाई नेपाली कला क्षेत्रमा चिनाउने माध्यम भएको थियो । त्यसलगत्तै तुलसी घिमिरेकै मार्गदर्शनमा उनी काठमाडौं आएकी थिइन् । घिमिरेकै फिल्म ‘तोड’मा अनुबन्धित भएसँगै उनको नेपाली चलचित्र उद्योगमा प्रवेश भयो । फलस्वरुप आज पनि उनी नेपाली चलचित्र क्षेत्रमा रमाइरहेकी छिन् । निर्देशक आकाश अधिकारीसँगको सहकार्यमा दशैंपछि एउटा फिल्म सिक्किममा सुटिङको लागि तयारी अवस्थामा छ ।

शैशवकालमै उमालाई नृत्यमा रुचि थियो । बुवा पुलिसमा जागिरे भएका कारण उनीहरुको परिवार पनि सिक्किमका विभिन्न ठाउँमा बसाइँका क्रममा पुग्यो । उमा विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रममा आफ्ना प्रस्तुति राख्ने गर्थिन् । त्यसैबेला सिक्किम सरकारको कल्चरल सेक्टरमा रहेर पनि उनले काम गर्ने मौका पाइन् । त्यसपछि उनलाई भारतमात्र होइन त्यसबाहेकका विभिन्न मुलुकमा पनि आफूलाई उभ्याइने अवसर पाइन् । मारुनी नृत्यांगानाको रुपमा उनले आफूलाई चिनाइन् । किशोर अवस्थामै उनी कलाप्रति सम्मोहित भइसकेकी थिइन् । रोड नाटकहरु, २५ बढी म्युजिक भिडिओ र सरकारी वृत्तचित्रमा समेत उनी संलग्न भइन् । त्यसबखत उनले थुप्रै अवार्ड र पुरस्कारहरु हात पारेकी छिन् ।
सानै उमेरमा अथाह अनुभव बटुलेकी उमालाई १४÷१५ वर्षकै उमेरमा ‘माया गर्छु तिमीलाई’ फिल्ममा अभिनेत्री हुने अवसर पनि मिल्यो । उनकै भनाईअनुसार उक्त फिल्म सिक्किमबाट बनेको पहिलो फिल्म हो । त्यसपछि पनि उनलाई निकै प्रस्तावहरु आए । बंगाली फिल्ममा पनि उनले काम गरिन् । सिक्किम विस्तारै सुटिङ हब बन्दै गयो, उमाका अवसरका ढोकाहरु एवंरितले खुल्दै गए ।

सिजन मिडियाद्धारा आयोजना गरिएको नेशनल प्रोफेशनल अवार्ड २०२१मा उत्कृष्ट अभिनेत्रीको अवार्ड ग्रहण गर्दै ।
नेपाली फिल्म ‘तोड’ पछि ‘माझी मामा’, ‘देशदेखि विदेश’ फिल्ममा उमाले अभिनेत्रीको भूमिका निर्वाह गरिन् । सबै फिल्मले अपेक्षाअनुसारको सफलता प्राप्त गरेपछि उमालाई नेपाल निकै प्यारो लाग्यो । हालसम्म उनले नेपाली र भारतीय गरी २१ वटा फिल्ममा काम गरिसकेकी छन् । आफू अभिनित फिल्मले सिक्किमका दर्शकको राम्रो माया पाएको उनी बताउँछिन् । नेपालबाट सिक्किम र सिक्किमबाट नेपाल सुटिङका लागि आउने र कलाकारहरुले प्रस्तुति दिने बाटो आफ्नै तदारुकतामा खुल्न सकेकोमा उनी दंग छिन् । उनलाई नेपाली चलचित्र क्षेत्रले रुचाएकै कारण ‘उमा बेबी’ ट्याग दिएको छ ।
उनी सामाजिक काममा पनि सक्रिय छिन् । तर मिडियामा एक्सपोज नगर्ने उनको आफ्नो शैली छ । आफ्नो कामबाट पर्याप्त सन्तोष मान्ने उनको गजबको शैलीकै कारण चलचित्र क्षेत्रमा नै समर्पण हुने अठोट लिएकी छन् । सिक्किमबाट एउटा झोला बोकेर काठमाडौं आउँदा त्यसबेलाको नौलो परिवेशले कसरी स्वागत ग¥यो उनलाई त्यति चासो छैन तर नेपाली चलचित्र क्षेत्रलाई आफूले योगदान गर्न पाउँदा उनको तिर्खा त्यहाँ मेटिएको छ ।


