Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

प्रदीपराज वन्त÷ खोकना, ललितपुर

छ सय वर्ष भन्दा पनि पुरानो कुँ छेँ फल्चा पाटीको जग्गा स्थानीय रमानन्द श्रेष्ठले मिचेपछी विवाद भैरहेको छ ।

महानगरपालिकाको उपमेयरको नेतृत्वमा हुने न्यायिक समितिमा परेको मुद्दा दुई वर्षदेखी रोकिएको छ । मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्यालले काङ्ग्रेस निकट श्रेष्ठको पक्षमा फैसला गराउने प्रयत्न गरिरहेको भन्दै स्थानीयले विरोध गरेपछी मुद्दा फैसला पनि नगरी रोकेर राखिएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा ६ सय वर्ष भन्दा पुरानो कुँ छेँ फल्चा पाटीको जग्गा हडप्ने प्रयास भएको भन्दै स्थानीयले विरोध गरेका छन् । २१ नम्बरका वडाध्यक्ष रविन्द्र महर्जनका अनुसार १९९० सालको भूकम्पले क्षतिग्रस्त भएपछि जीर्ण बनेको सो पाटीको अहिले जग्गा मात्र छ ।

ललितपुर स्थित खोकनामा रहेको कुँ छेँ फल्चा पाटीको भग्नावषेस जग्गा ।

तर, सोही जग्गा पनि स्थानीय रमानन्द श्रेष्ठले मिच्ने प्रयास भएको भन्दै स्थानीयले ललितपुर महानगरपालिकाको न्यायिक समितिमा मुद्दा हालेका छन् । उपमेयर गीता सत्यालको संयोजकत्वमा हुने न्यायिक समितिले दुई वर्षभन्दा बढी हुँदापनि सो मुद्दाको फैसला नगरेको पाटीबारे जानकार व्यक्ति ९५ वर्षका जीतलाल महर्जनले गुनासो गरे । झण्डै दुई आना जग्गामा निर्मित पाटीको अहिले जगमात्र देख्न सकिन्छ । अरु संरचना छैन । श्रेष्ठको घरसँगै पाटीको जग्गा छ ।

आजभन्दा ८८ वर्षअघि गएको महा भूकम्पले पाटी ध्वस्त भएपछि त्यसको संरक्षण नहुँदा पाटीको जग्गा कति भन्ने अन्योल भएपछि मिच्ने प्रयास भएको वडाध्यक्ष महर्जनले बताए । पाटीको जग्गा दुई आना भनिएको छ । तर, फिल्डमा एक आना चानचुन मात्र रहेको उनले बताए ।

१९९० सालको भूकम्पले भत्के लगत्तै पहिलेकै स्वरुपमा बनाउनुपर्ने पाटी अलपत्र छोडिएकै कारण अहिले त्यो जग्गा मै विवाद निकालेर स्थानीय रमानन्द श्रेष्ठले मिच्न खोजेको पाटीका बारेमा जानकार स्थानीय ९५ वर्षका जीतलाल महर्जनले दुखेसो पोखे ।
आजभन्दा ८८ वर्ष अगाडि गएको शक्तिशाली भूकम्पले खोकनाका धेरै बस्ती क्षतिग्रस्त पारेको थियो ।

खोकनामा रहेका तीनवटा बस्तीको बीचमा पर्ने कुँ छेँ फल्चा पाटी अग्लो उचाईमा रहेको महर्जनले बताए । ‘अलि अग्लो ठाउँमा पाटी थियो, खोकनाका तीनवटा बस्तीको बीचमा रहेकाले सबैतिरका मानिसहरु त्यहाँ आराम गथ्र्याैँ,’ उनले भने, ‘तर, ९० सालको भूकम्पले पाटी भत्कियो । भूकम्पले ध्वस्त भएको पाटी फेरि बनाइएन । अहिले छिमेकीले मिच्ने प्रयास गरिरहेका छन् । हामीले दिएका छैनौँ ।’९० सालको भूकम्पले भत्केपछि पाटीको पुननिर्माण नै भएको थिएन ।

पाटीसँगै रमानन्द श्रेष्ठको घर जोडिएको छ । उपमेयर गीता सत्यालसँग लबिङ गरेर पाटीको केही जग्गा आफ्नो बनाउन खोजेका छन् । यी सबै प्रमाण लिएर वडाध्यक्ष महर्जन स्थानीयसँग दैनिक छलफलमा छन् । उपमेयरको आडमा ऐतिहासिक सम्पदाको जग्गा हडप्न खोजेको भन्दै महानगरपालिकाको न्यायिक समितिमा मुद्दा पनि परेको छ तर, तीनवर्षदेखि मुद्दाको सुनुवाई नभएको स्थानीय ९५ वर्षका जीतलाल महर्जनले बताए ।

उनले महानगरपालिका पुगेर ३ पटक पाटीको जग्गा मिच्न पाइदैँन भनेर न्यायिक समितिमा जवाफ दिइसकेको तर, अहिलेसम्म कुनै सुनुवाई नगरेको भन्दै महर्जन असन्तुष्ट छन् । सार्वजनिक र ऐतिहासिक पाटी संरक्षण गर्न खोज्दा व्यक्तिको नाममा रहेको बताएपछि आफुले प्रमाणहरु खोजि गरेको वडाध्यक्ष महर्जन बताउँछन् । उनलाई स्थानीयहरुले प्रमाणहरु उपलब्ध गराइरहेका छन् ।

पाटी कहिले निर्माण भएको हो भन्ने कुनै दस्तावेज भेटिएको छैन । तर, पुरातत्व विभागले निकालेको ठेचो र खोकनाको सांस्कृतिक सम्पदाहरु भन्ने कितावमा सो पाटीबारे उल्लेख गरिएको छ । त्यहाँ लेखिएको छ, ‘सूचीकरण संख्या ०१४५१९ । पाटीको नाम खुलाइएको छैन, पाटी भग्नावशेष लेखिएको छ ।’ ‘स्थानः तत्कालिन खोकना गाउँ विकास समिती, ललितपुर खोकना पन्च्यायत हुँदा गाउँ विकास समिति वार्ड नम्बर २ तः ज्या टोल भनिएको छ ।

‘६ सय वर्षभन्दा पूरानो पाटी रहेको जग्गा कोही व्यक्तिले पनि मिच्न सक्तैन, हामीसँग पाटी रहेको स्थानको प्रमाण छ, पाटीका बारेमा बोल्ने बुढापाकाहरु हुनुहुन्छ,’ वडाध्यक्ष महर्जनले भने, ‘हामीसँग प्रमाणहरु संकलन भइरहेका छौँ, न्यायिक समितिले गरेन भने हामी सर्वाेच्च पनि जान्छौँ ।’

प्रमाणहरु जुटाउँदै वडाध्यक्ष

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही क्षेत्रमा पर्ने २१ नम्बर वडाबाट जितेपछि रविन्द्र महर्जनलाई साथनीय बुढापाकाहरुले पाटी निर्माण गर्न सुझाव दिए । पाटी रहेको स्थानको जग बाँकी नै छ । झण्डै १ आना क्षेत्रफलमा रहेको पाटी मिचिएको भन्दै स्थानीयले नै प्रमाणहरु वडा कार्यालय ल्याइदिएका थिए । ‘पाटीको भग्नावशेषको जगमात्र देखिन्छ, इट्टा, माटो र काठले बनेको, स्थानीयको भनाई छ, महर्जनले भने, रुद्रायणी मन्दिर बसेको ६ सय वर्ष बढी भयो त्यही आसपास बनेको स्थानीय बताउँछन् ।

‘खोकना बस्ती बसेकै ६ सय नाघिसक्यो, रुद्रायणी मन्दिरसँगै त्यो पाटीपनि बनेको भनाई छ,’ स्थानीय दैलाल महर्जनले भने । त्यो पाटीका काठहरु तःगुठीमा र संला गुठीले लगेर सुरक्षित राखखिएको छ । एउटा काठ श्रीखण्ड भगवानको मन्दिरमा राखिएको छ ।
वार्ड कार्यालयको ठ्याक्कै अगाडि रहेको त्यस पाटीलाई पहिलेकै अवस्थामा निर्माण गर्ने प्रयास भएपछि स्थानीय रमानन्दले मिच्न खोजेको थाहा पाएको वडाध्यक्ष महर्जनको भनाई छ । ‘उपमेयर कांग्रेस, यहाँपनि पार्टीको शक्तिमा सम्पदाको जग्गा मिच्न खोजिएको छ, त्यसलाई हामी दिँदैनौ,’ उनले भने । रमानन्द श्रेष्ठले सम्पदा जग्गालाइ आफ्नो भनेर दाबी गरेको र अनावश्यक पार्टीगत शक्तिकेन्द्र धाउन खेजेको स्थानीयहरु बताउँछन् । हुँदै नभएको लालपूर्जा बनाइयो

ललितपुर स्थित खोकनाका स्थानीय ९५ वर्षका जीतलाल महर्जन

रमान्नदका हजुरबुबा मुक्तिबहादुर श्रेष्ठको पालामा पाटीसँगैको घरसहितको जग्गा २ आना एक पैसा रहेको मालपोत कार्यालय ललितपुरको अभिलेखबाट देखिन आएको छ । मालपोत कार्यालयले २०७५ चैत १८ गते लेखिपठाएको विवरणमा सो कुरा उल्लेख छ । तर, नाती रमानन्नले भने आफ्नो जग्गा तीन आना चानचुन रहेको विवरण महानगरपालिकामा पेश गरेका छन् ।

खोकनाको पाटीको चारकिल्ला छुट्याउने क्रममा स्थानीयले जग्गा मिचिएको प्रष्ट बताएको वडाध्यक्ष महर्जन बताउँछन् । सधिँयारहरु राखेर गरिएको चारकिल्लामा पनि त्यही देखिन आएकोे र पाटीको जग्गा मिच्न खोजेको देखिन्छ । रोचक कुरा त,खोकना बजारमा कुनैव्यक्तिको जग्गाको पनि लाल पुर्जा छैन ।

झण्डै एक हजार घरधुरी रहेका कसैको पनि लालपुर्जा छैन । उनले आफ्नो वडा कार्यालय, मन्दिर गुठी कुनैको पनि छैन । तर, रमानन्दको भने लालपूर्जा बनेको छ । हो, स्थानीयले यही कुरालाई स्वीकार गर्न सकेका छैनन् । ‘नापी हुने भए खोकनाबासी सबैको हुन्छ, उसको मात्र कसरी भयो ?’ ९५ वर्षका जीतलालले प्रश्न गरे, ‘गाउँमा रहेको पाटीको जग्गा मिच्न खोजिएको प्रमाण यही हो ।’


महानगपालिकाको न्यायिक समितीमा मुद्दा चलेकै २ वर्ष भन्दा बढी भैसकेको छ तर, अहिलेसम्म सुनुवाई र फैसला नगरी रोकेको राखेको भन्दै उनले गुनासो पोखे । रमानन्द श्रेष्ठको जग्गा जम्मा २ आना १ पैसा रहेको देखिन्छ तर अहिले उनले भोगचलन गरेको जग्गा ३ आना २ पैसा १ दाम देखिन्छ । पाटीसँगै जोडिएको रमानन्दको एल आकारको घर छ ।

जबकि हजुरबुबा मुक्तिबहादुर श्रेष्ठले भोग चलन गरेको जग्गा २ आना एक पैसा मात्र छ । ‘महानगरपालिकामा उपमेयरको संयोजकत्वमा हुने न्यायिक समितिले निर्णय गरेन,’ वडाध्यक्ष महर्जनले गुनासो गरे,‘ जग्गा मिच्न खोज्ने व्यक्ति पार्टी निकट भएकै कारण उनको पक्षमा निर्णय गर्न खोजिएको छ ।’२०७६ जेठ ३ गते पाटीको दक्षीण तिरका सँधियार, राजमान श्रेष्ठ, उत्तरतर्फको सँधियार दुर्गा प्रसाद श्रेष्ठ, राखेर नापी गर्दा रमानन्दले जग्गा मिचेको देखिन्छ ।

सोही मितिमा सर्जिमन गर्दा पनि पाटीको जग्गा नै मिचेको देखिएको प्रमाण सुरक्षित राखेको वडाध्यक्ष महर्जनले जानकारी दिए । पाटीसँगै दे पुखु (पोखरी) छ । रमानन्दको जग्गाले सो पोखरी छोएको कतैबाट देखिदैँन तर, अहिले पोखरीसँगै जोडिएको ट्रेस बनेपछि स्थानीयले विरोध जनाएका हुन् ।अहिले वडा कार्यालयले सबै प्रमाणहरु संकलन गरेर पाटीको जग्गा यकिन गरेर फेरि पाटी निर्माण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय