Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँको ब्रम्हटोलमा जन्मिइ हाल सानोभर्याङ बस्ने शिक्षासेवी मिना महर्जन ‘चित्रकार’ जनप्रभात माध्यामिक विद्यालय कालिमाटीबाट एसएलसी पढ्नुभयो । परिवारसँग कापी कलम किन्ने पैसा नहुँदा घरमा पालेको कुखुराका अण्डा बेचेर उहाँले पढ्ने धोको पुरा गर्नुभयो । स्कुले शिक्षापछि उच्च शिक्षासँगै स्कुल पढाउनुभयो । त्यसपछि स्कुल व्यवस्थापक भएरसमेत काम गर्नुभयो । ऊनीको व्यवसायमा पोख्त मिना शिक्षा क्षेत्रमा पनि धेरै अनुभव लिनुभयो । नेपालको शिक्षाको अबस्थाबारे राम्ररी ज्ञान प्राप्त गरेपछि हाल शिक्षा क्षेत्रमै लगानी गर्नुभएकी मिना आजको शिक्षा घोकन्ते होइन व्यवहारिक चाहिन्छ भन्ने सोचको हुनुहुन्छ । उहाँले सानो भ¥याङमा स्वस्तिश्री गुरुकुलमार्फत व्यवहारिक शिक्षा प्रदान गर्न थाल्नुभएको दुई वर्ष भयो । उहाँ छोटो अवधीमा अब्बल शिक्षा प्रदान गरी नाम कमाउन सफल हुनुहुन्छ ।
विद्यार्थीमा जस्तो क्षमता छ, त्यस्तै शिक्षा प्राप्त गर्न सकोस् भन्ने सोचकी मिना आफैँ डिजाइनर समेत भएकाले कुनै कुरा डिजाइन गर्दागर्दै स्कुल बन्ने गरेको अनुभव उहाँसँग छ । पछि वास्तविकता मै उहाँले विसं २०७६ बाट सेवामुलक क्षेत्र स्कुल सञ्चालन गर्नुभयो । मानिस चिकित्सक इन्जिनियर बन्नै पर्छ भन्ने छैन तर जुनसुकै पेशामा लागोस् त्यसमा सफल व्यक्ति बनोस् भन्ने उद्देश्य बोकेर शिक्षा क्षेत्रमा लाग्नुभएकी गुरुकुलकी प्रबन्ध निर्देशक मिना महर्जनसँग हामीले शैक्षिक विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीका सारसंक्षेप :–

प्रश्न : स्वस्तिश्री गुरुकुल कस्तो खालको स्कुल हो ?

उत्तर : यो स्कुल यस्तो हो की, यहाँ पढाउने मात्रै होइन की व्यवहारिक ज्ञान पनि हामी दिन्छौँ । बच्चालाई जीवनमा चाहिने ज्ञान हुन्छ नी त्यो सबै यहाँ प्राप्त हुन्छ । त्यसैले सबै चिजहरु स्कुलभित्रै बनाएको छु । जस्तै स्वीमिङ पुलदेखि लिएर त्यो पनि हिटेड, फुटसल, बास्केटबल, स्केटिङ, टिटी, माथि संसद भवन पनि छ । जो बच्चाहरु स्पिच दिन चाहन्छ, कोही राजनीतिज्ञ पनि हुनसक्छ नी हैन । तालिम लिनका लागि उपयुक्त ठाउँ हरु बनाएका छौँ ।

प्रश्न: स्कुल सञ्चालन र कोभिड–१९ सँगसँगै आयो चुनौतीलाई कसरी व्यवस्थापन गर्नुभयो ?

उत्तर: धेरै गाह्रो अबस्थाबाट आयौँ । भर्खरै लकडाउन भएको थियो । यस्तो हुन्छ भन्ने सोचेकै थिएनौँ तर भैदियो । त्यस विषयमा कुनै योजना पनि बनाइएको थिएन । शिक्षकलाई तलब दिनलाई बच्चाबाट कमाउने भने सोच मेरो होइन । पैसा कमाउने होइन की वास्तविक शिक्षा दिने भनेर आएको हो । जहाँ बच्चाले पढ्दा केही न केही बनेर निस्कियोस् भन्ने मेरो ठुलो चाहना हो । त्यसैले चुनौतीका बीच बच्चा पढाइरहेका छौँ । भन्छ नी कोही नभएको मान्छेको भगवान हुन्छ भन्ने कुरामाम विस्वास गर्छु के, किन भने प्यारेन्ट्सले पनि विश्वास गर्नुभएको छ । उहाँहरुले अझै हाम्रो वास्तविक क्वालिटी देख्नुभएको छैन । म तपाईहरु माझ पनि यस्तो प्रतिवद्धता जनाउँछु की वास्तविक गुणस्तरको शिक्षा हामी दिन्छौँ । अभिभावकको अपेक्षा भन्दा पनि ज्यादा नै दिन्छौँ । तर त्यो दिन आउनुपर्छ, भर्खरै खोलेका थियौँ फेरि लकडाउन भैदियो ।

प्रश्न: स्कुलको शुरुवात कसरी गर्नुभयो ?

उत्तर: शुरुवातमा चाहिँ केजी शुरु गर्यौँ, प्ले ग्रुप र नर्सरी केजी, किन्डर गार्डेन । भवन बनाउने क्रममा थियौँ । हामीसँग त्यो बेलामा २१ जना बच्चा थियो । त्यसपछि स्कुलको भवन तयार भयो । अनि हामीले जिरो लेबलबाट एक देखि १० सम्मै भर्ना खोलेका हौँ । त्यो बेला शुन्यबाट पहिलो वर्ष नै २०५ जना विद्यार्थी भर्ना भए । कक्षा १० मा ६ जना थियो नौमा १२ जना थियो । धेरै गर्व लाग्छ के मलाई । कसरी गरेँ मलाई पनि थाहा छैन । आफूले आफूलाई विश्वास गर्न जरुरी छ । त्यसैले मलाई विश्वास छ, हामी त्यस्तो क्वालिटी दिन्छौँ की मैले खोलेपछि बच्चा आउँछ । रिस्क लिएरै शिक्षामा लगानी गरेको हो । अहिले २७० जना विद्यार्थी छन् ।

प्रश्न: व्यवसाय हुँदाहुँदै शिक्षा क्षेत्रमा लगानी गर्ने सोच चाहिँ कसरी आयो ?

उत्तर: शुरुवाती स्कुल पनि पढाएको थिएँ । व्यापार जारी नै थियो । त्यसपछि भक्तपुरमा राजर्शी गुरुकुल भन्ने स्कुल चलाएका थियौँ । त्यहाँबाट अभिभावक चिन्ने मौका पाएँ । पाटनर धेरै थिए । अनि मैले दिने भनेको गुणस्तर दिनसक्ने अबस्था भएन । त्यसैले त्यो शिक्षा दिन नसक्ने देखेपछि शिक्षामा लगानी गरेकी हुँ । मैले स्कुल खोल्नुमा भने वास्तवमा बच्चा मन परेर नै हो । कताकता भित्रदेखि नै आएको हो । शिक्षक बन्न गाह्रो नै छ । भित्रदेखि आएन भने पेशा अंगाल्नु हुन्न । स्कुलमा शिक्षकको धेरै योगदान हुन्छ । मलाई गर्व लाग्छ की मैले राम्राराम्रा शिक्षक पाएकी छु ।

प्रश्न: कोभिडका कारण शिक्षा क्षेत्रमा पनि चुनौती बढ्दो छ, त्यसका बीच कसरी स्कुल चलिरहेको छ ?

उत्तर: अरु उपाए नै छैन, अनलाइन कक्षा नै हो, हामीले पनि त्यही सञ्चालन गर्छाैँ, तर पनि म स्वीकार्छु की जुन कुरा फिजिकल्ली हुँदा बच्चाले सिक्ने कुरामा फरक छ । उनीहरुले व्यवहारिक ज्ञान सिक्न सक्दैनन् । कसरी खाने, के व्यवहार गर्ने सबै कुरा हामी सिकाउँछौँ, त्यो चाहिँ अहिले सिकाउन सकिरहेको छैन । यो महामारी धेरै नहोला भन्ने लाग्छ मलाई । छिटै नै कोरोनाको संक्रमण रोकिन्छ भन्ने लाग्छ । यो स्कुलमा पढ्ने सबैले खोप पाइसकेका छन् । सरकारले पनि खोप अभियान चलाइरहेको छ । विस्तारै कम हुन्छ, अनि सहज पक्कै हुन्छ ।

प्रश्न: खर्च कसरी धानिरहनुभएको छ त ?

उत्तर: हाम्रो यहाँ लगानी धेरै छ, ऋण पनि छ । लकडाउनले चुनौती दिए पनि व्यवस्थापन गर्छु भन्ने विश्वास छ । सबै भौतिक संरचना तयार भइसकेको छ । यहाँको जग्गा भाडामा लिनु परेको छैन त्यसमा खुसी पनि लाग्छ । मैले लगानी उठाउने भनेर त्यसरी सोचेको छैन । व्याकअपमा विजनेस छ, त्यसबाट ल्याएर पनि तिर्छु । यही स्कुलको शुल्क ल्याएर तिर्छु भन्ने सोच चाहिँ छैन । यहाँ जति लगानी छ त्यो बच्चाकै लागि हो । हेर्नुभए पनि थाहा हुन्छ ।

मिना महर्जन (प्रबन्ध निर्देशक) स्वस्तिश्री गुरुकुल स्कुल

प्रश्न: स्कुल उद्घाटन नहुँदै पनि विद्यार्थीको चाम धेरै देखियो, खास कारण ?

उत्तर : यसलाई चाहिँ म के भन्छु भने, जस्तै एक दुई जनाले विद्यार्थी ल्याउनुभयो । त्यो गुणस्तर हेरेर उहाँहरुले अरुलाई भन्नुभयो । मानिस मानिसबाटै प्रचार हुँदै गयो । अभिभावक आउनुहुन्छ । हामीसँग कुरा गर्नुहुन्छ, हाम्रो शिक्षकले पढाइरहेको कक्षा हेर्नुहुन्छ । अनि चाम बढ्दै गयो ।

प्रश्न: एउटा व्यवसाय र अर्को सेवामुलुक पेशामा हुनुहुन्छ, सफल हुन के गर्नुपर्ने रहेछ ?

उत्तर: मलाई कस्तो लाग्छ भने, तपाई जुन व्यवसाय शुरु गर्नुहुन्छ त्यो बारेमा जान्न जरुरी छ । ऊन व्यवसायमा हेर्नुहुन्छ भने म आफैँ पनि स्वीटरलगायत बुन्ने मान्ने हो । आफैँले गरेपछि यो विषयमा यसरी जाने भनेर गर्न सकिन्छ, कसैको भर नपरी अघि बढ्नुपर्छ भन्ने लाग्छ । केही पाउँछु भनेर होइन की म गर्छु भनेर जानुपर्छ । कमाउँछु भनेर होइन की मेहनत गर्यो भने अवश्य कमाइ पनि हुन्छ । मेरै कुरा गर्नुहुन्छ भने म गरिव परिवारको छोरी खानलाई गाह्रो पर्ने अबस्थाबाट आएको हुँ । त्यसैले व्यवसाय गर्नलाई पैसा हुनुपर्छ भन्ने होइन । तर यो भएन भनेर छाड्नु हुन्न नियमितता ठुलो कुरा छ । तर स्कुल भने फरक छ, पैसा छैन भने गर्न सकिँदैन तर फिबाट कमाउँछु भनेर चाहिँ लाग्नु हुन्न । मलाई स्कुल चलाउनका लागि अर्काे व्यापारले सहयोग गरेको हो । तर म के ढुक्क गर्न चाहन्छु भने कुनै पनि हालतमा यसलाई बन्द हुन दिन्न, समस्या आयो भने कसरी चलाउने भन्ने योजना मसँग छ ।

प्रश्न: स्कुलको गुणस्तरबारे अभिभावकलाई कसरी विश्वास दिलाउनसक्नुहुन्छ ?

उत्तर: हामी अहिले चाहिँ भर्खरै आइबी (अन्तराष्ट्रियस्तरको मान्यता) पाएका छौँ । सजिलै यो प्राप्त हुन्न । यो बाहिरको करिकुलम हो । उनीहरुले कक्षा, भौतिक संरचना हेर्छ, कसरी पढाउँछौँ, बच्चाले के सिकिराछ भनेर सबैले हेरेपछि डिक्लियर गर्ने हो । त्यो हामीले प्राप्त गरेका छौँ । नेपालमा मलाई थाहा भएसम्म हजारौँ स्कुलमा यो तेस्रो स्कुल हो । त्यसबाट गर्व पनि लाग्छ मलाई । उनीहरुले भर्खरै घोषणा गरेको छ की, स्वस्तिश्री गुरुकुल इज आइबी पिवाइपी स्कुल भनेर, त्यो हामी मिडियालाई पनि छिटै नै (यही माघ १५ गते) देखाउँदै छौँ । परम्परागत शिक्षा दिएर त होइन, डेढ वर्ष हेरेर नै दिएको हो यो मान्यता ।

प्रश्न: निजी स्कुललाई हेर्ने दृष्टिकोण अझै फरक छ, शिक्षामा व्यापार गर्छन् भन्ने आरोप छ, के भन्न्ुहुन्छ ?

उत्तर: मेरो विचारमा त्यसै पैसा लियो भनेर भन्नुभन्दा पनि गहिरिएर हेर्नु जरुरी छ । अहिले भन्नुहुन्छ भने लकडाउनमा अनलाइमा बच्चा पढाउन धेरै गाह्रो छ । जनु ढंगले पढाउँदै नपढाइ पैसा लियो भन्ने छ नी त्यो चाहिँ होइन, झन धेरै मेहनत शिक्षकको छ । गरिरिएर हेरिदिनुस् भन्छु । अझ मेरो सोच त सरकारले चलाउन सक्छ भने स्कुल सरकारलाई नै हस्तान्तरण गर्न समेत तयार भएको मान्छे हुँ । सरकारले नै व्यवहारिक शिक्षा दिनुपर्छ भन्ने सोच मेरो छ ।

प्रश्न: नेपालको शिक्षा कस्तो हुनुपर्छ ?

उत्तर: विद्यार्थीले यस्तो शिक्षा पाओस्की (पहिलेपहिले हुन्थ्यो नी हाम्रो पालामा घोकन्ते विद्या, त्यो होइन) व्यवहारमा लागू हुने होस् । पढाइका साथै अरु विभिन्न ज्ञानहरु पनि हुनु जरुरी छ । म आफैँलाई सोध्नुहुन्छ भने कोहीसँग बोल्न डर लाग्थ्यो । त्यो चाहिँ हाम्रो बच्चालाई नहोस्, त्यस्तो व्यवहारिक शिक्षा दिन एकदम जरुरी छ ।

प्रश्न: व्यवहारिक शिक्षा दिनुपर्छ भनेर नेता मन्त्रीले भनिरहेका पनि छन्, लागू भएको देख्नुहुन्छ ?

उत्तर: पक्कै पनि विस्तारै हुन्छ होला । हुँदैन÷छैन भन्न चाहिँ म चाहन्न, किनकी म पनि लागेकी छु, अरु धेरै स्कुल पनि लागिरहेको छ । इभन सरकारी स्कुलमा पनि उदाहरण छ । ज्ञानोदय भन्ने सरकारी स्कुलमा अहिले सिट नै पाउँदैन, मान्छेले चाहायो भने नहुने भन्ने हुँदैन । सरकारी स्कुलले पनि शुरु गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय