आगामी मार्च महिना इजिप्टमा संचालन हुने मिस इको इन्टरनेसनल २०२२ मा नेपालका तर्फबाट सहभागि हुने आधिकारिक प्रतिनिधि पात्रको चयन भएको छ । यसपटक सो प्रतियोगितामा नेपालका तर्फबाट सोफिया भुजेलले प्रतिनिधित्व गर्ने भएकी छिन् । मिस इको इन्टरनेसनलका लागि नेपालको आधिकारिक फ्रान्चाइज संस्था ग्रीन आर्टस् मिडिया प्रा.लि. तथा प्रतियोगिताका लागि नेसनल डाइरेक्टर अनिला श्रेष्ठले काठमाडौंकी २५ वर्षिया सोफिया भुजेललाई मिस इको इन्टरनेसनल नेपाल २०२२ का रुपमा चयन गरेको हो । राजधानीको शहरको बत्तीसपुतली स्थित द स्ट्राण्ड लाउन्ज एण्ड बारमा सम्पन्न भएको एक कार्यक्रमका वीच गत वर्षकी मिस इको इन्टरनेसनल नेपाल २०२१ अनुष्मा रायमाझीले मिस इको इन्टरनेसनल नेपाल २०२२ का रुपमा ताज पहि¥याएकी थिइन् । 
सोफियाले यस अघि मिस नेपाल २०१९ मा सहभागिता जनाएकी थिइन् र उत्कृष्ट ७ सम्मको यात्रा तय गरेकी थिइन् । सोही वर्ष सोफियाले ग्लोबल एशियन मोडल २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । फिलिपिन्सको मनिलामा सम्पन्न उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पनि सोफियाले टप टेन फाइनलिष्टका रुपमा यात्रा तय गरेकी थिइन् ।
मिस इको इन्टरनेसनलमा नेपालको यो सहभागिता भने होइन । सन् २०१७मा ग्रीन आर्टस् मिडियाले प्रतियोगिताको लागि नेपालबाट फ्रान्चाइज प्राप्त गरेपछि रोनाली अमात्य, मौनता लामा, मुना गौचन, अनुष्मा रायमाझी सो प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाइसकेका छन् । जसमध्ये रोनालीले मिस कन्जिनियालिटीको अवार्ड प्राप्त गरेकी थिइन् भने मुना गौचनको उपस्थिति सेमिफाइनल चरणसम्म पुगेको थियो । अनुष्माले मिस इको एशियाको अवार्ड जित्न सफल भएकी थिइन् ।


