Sunday 23 August 2026 / आईतवार, ७ भाद्र २०८३

एसनेपाली समाचारदाता,
२३ माघ । हालैमात्र अन्तराष्ट्रियस्तर प्राप्त गर्न सफल काठमाडौँको एक स्कुलका विद्यार्थीले अब स्कुलमै संसदीय अभ्यास गर्न पाउने भएका छन् ।

राजनीतिमा लाग्न चाहने तथा अन्य जुनसुकै पेशामा जानका लागि पनि वाक कलाको विकासका लागि काठमाडौँको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुलले संसदीय हल नै स्थापना गरेपछि विद्यार्थीको उक्त सपना साकार हुन लागेको हो ।
पूर्वप्रधानमन्त्री तथा प्रथम समामुख सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुल काठमाडौँले ‘किसुनजी स्मृति संसदीय हल’ स्थापना गरेको हो ।


बालबालिकाको वाक कलाको विकासका लागि निर्माण गरिएको हलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आज वसन्त पञ्चमीको अवसर पारेर संसदीय हलको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा राज्यमन्त्री श्रेष्ठले स्वस्तिश्री गुरुकुल आईवी वल्र्ड स्कुल भएकोमा बधाई दिँदै यहाँ पढ्ने विद्यार्थीलाई संसारकै उत्कृष्ट विश्वविद्यालयमा सहजै भर्ना पाउने अवसर प्राप्त हुने बताउनुभयो । उहाँले गुरुकुलले स्पष्ट भिजनका साथ शिक्षा क्षेत्रमा गरेको लगानीको प्रशंसा पनि गर्नुभयो ।


राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय शिक्षामा निजी कम्पनी, सामुदायिक र गुठीबाट माध्यमिक विद्यालय संचालन गर्न पाउने व्यवस्था गर्नका लागि ३ वटा कानुन बनाउन लागेको जानकारी गराउनुभयो ।
काठमाडौँको सानो भट्याङ्मा रहेको उक्त स्कुलले हालैमात्र आइवी (अन्तराष्ट्रियस्तर) को मान्यता पाएको थियो । राजनीतिमा जान चाहने विद्यार्थीहरुलाई सानैदेखि बोल्ने कलाको विकास गर्न उक्त संसदीय हल तयार पारिएको विद्यालयका संस्थापक प्रबन्ध निर्देशक मिना महर्जन (चित्रकार) ले जानकारी दिनुभयो ।


समारोहमा विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहन कार्की, विद्यालयका प्रिन्सिपल प्राडा हिमलाल घिमिरे, शैक्षिक निर्देशक प्रविन मोक्तान, विद्यालय संयोजक हरिप्रसाद सञ्जेललगायतको सहभागिता थियो ।
विद्यालयका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकारले बालबालिकाहरु राम्रो शिक्षाको लागि विदेशमा जाँदा विदेशबाट आएको करोडौं डलर रेमिट्यान्स पुनः विदेश फर्किरहेको सन्दर्भ जोड्दै अन्तर्राष्ट्रियस्तरको उच्चगुणस्तरीय शिक्षा नेपाल मै प्रदान गरी शिक्षाको लागि विदेशीने प्रवृत्ति रोक्ने प्रयास स्वरुप स्कुल खोलिएको बताउनुभयो ।
उक्त कार्यक्रममा ब्याडमिन्टन खेलमा महिला जूनियर डबलतर्फ विश्व वरियताक्रममा सातौं नम्बरमा आउन सफल नेपाली खेलाडी रशिला महर्जनलाई रु ५० हजार नगदसहित सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय