प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आज साँझ करिब डेढ घण्टा भएको भेटमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेश्न (एमसीसी) लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको थियो । एमसीसी सम्झौतालाई यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्न सरकारले सो अवधिभित्र सबै राजनीतिक दलको सहमतिमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदन गर्न सबै दलहरुबीच छलफल अघि बढाएको छ ।
भेटवार्तामा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहनुभएको थियो ।
प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ तथा प्रतिपक्षमा रहेका दलहरुबीच त्यसलाई पारित गराउन घनीभूत छलफल भइरहेको छ ।


