काठमाडौँ, नेपाललाई भारत सरकारले कोभिड¬–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप आज बिहीबार नेपाल आइपुगेको छ । भारतले अनुदानका रुपमा खोप दिएको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।
हिजो मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालेछिट्टै खोप आइपुग्ने जानकारी दिनुभएको थियो । मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।
“खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्र्मी चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ”, मन्त्री त्रिपाठीले भन्नुभयो, “यसका लागि कानूनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भएको छ ।”


