काठमडौँ, १२ चैत,
सिजन मिडियाले आज एक संस्थासहित १६ व्यक्तिलाई दोस्रो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ प्रदान गरेको छ ।
राष्ट्रिय नाचघर जमलमा आज एक समारोहका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उहाँहरुलाई खादासहित सम्मानपत्रका साथ सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेमा मुलुकभर कै सडकमा आइपुगेका असहाय, वेसहारा तथा मनोरोगीहरुलाई उद्धार गरी संरक्षण, पालन पोषण तथा पारिवारिक पुनःमिलन गराउँदै आएको संस्था मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित वयोवृद्धा समाजसेवी पञ्चकुमारी मानन्धरसमेत हुनुहुन्छ ।
उक्त आश्रमले विसं २०८२ सम्ममा मुलुकभर नै सहयोगापेक्षी सडकमानवमुक्त बनाउने उद्देश्य लिएर अभियान अघि बढाइरहेको छ । सोही योगदानको मुल्यांकन गर्दै अवार्ड प्रदान गरिएको आयोजक सिजन मिडियाले जनाएको छ ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान प्रदान गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी
उक्त समारोहमा अधिकारी र मानन्धरसहित ललितपुरका समाजसेवी डा लछी सिंह, व्यवसायी तथा समाजसेवी राममणि न्यौपाने, अपाङ्ग सेवा संघ ललितपुर संस्थापक दयाराम मर्हजन, नार्काेनन् नेपालका अध्यक्ष पूजा कुँवरलाई पनि आजै सम्मान गरिएको छ ।
यस्तै सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, मानवअधिकारकर्मी तथा समाजसेवी, सरोज राय, ग्लोवल मिडिया सोलुशन का अध्यक्ष गौतम भूसाल, गामवेशी चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, सञ्चारकर्मी तथा व्यवसायी मिलन थापालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
यस्तै भोलेन्टियर कोर नेपालका अध्यक्ष दीपक चापागाई, समता स्कुलका प्राचार्य अजय अधिकारी पत्रकार तथा समाजसेवी नरेन्द्र बस्नेत, व्यवसायी तथा समाजसेवी सिजन श्रेष्ठ, समाजसेवी भक्तबहादुर भण्डारी तथा एक सामाजिक संस्था ‘हाम्रो जन्मभूमि’ लाई पनि सम्मान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।
उहाँले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाज कै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको जानकारी दिनुभयो ।
उहाँले यसको उद्देश्य भनेको सामाजिक अभियन्ताहरुलाई हौसला र प्रेरणा दिनका लागि हो भन्नुभयो ।


