काठमाडौँ, ८ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । रत्नपार्कमा हुने विरोधसभा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनअघि राजधानीका विभिन्न स्थानबाट जुलुश निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ ।
संघर्ष समितिले विरोध प्रदर्शन र सभालाई व्यवस्थित बनाउन निर्देशिकासमेत जारी गरेको छ । निर्देशिका अनुसार प्रत्येक प्रदेश, जिल्ला, जवस एवं मोर्चा संगठनले विरोध प्रदर्शन एवं सभामा सहभागी गराउने भनी जानकारी दिएको संख्यामा नघट्ने गरी अनिवार्य उपस्थिति गराउनुपर्नेछ । बिहान १०ः४५ सम्म आआफ्नो संगठनलाई छुट्टयाइएको स्थानमा अनिवार्य भेला भइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ । जुलुशका लागि विभिन्न नौ स्थान तोकिएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १ र २ तथा भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला, पेशागत, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकील, इन्जिनियर, शिक्षक र प्रदेश २ का नेता कार्यकर्तालाई माइतीघर मण्डलमा भेला हुन भनिएको छ । माइतीघर–भद्रकाली–शहिदगेट, एनएसी, भोटाहिटी हुँदै रत्नपार्क जाने उक्त जुलुशको नेतृत्व नेकपा स्थायी कमिटी सदस्यहरु गणेश साह, गिरिराजमणि पोखरेल, मातृका यादवm लीलामणि पोख्रेल, हरिबोल गजुरेल, पेशल खतिवडालगायतले नेतृत्व गर्नेछन् ।
यसैगरी काठमाडाँै निर्वाचन क्षेत्र नं ३, ४ र ५ नेता कार्यकर्ता सम्मलित जुलुश डिल्लीबजार–पुतलीसडक–प्रज्ञाभवन–घण्टाघर हुँदै रत्नपार्क पुग्ने र उक्त जुलुशको नेतृत्व स्थायी कमिटी सदस्यहरु वर्षमान पुन र बेदुराम भुसालले गर्ने संघर्ष समितिले जनाएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ६ र ७ तथा नुवाकोट र रसुवा जिल्लाबाट आएकाको जुलुश लैनचौर–अस्कल–असन–भोटाहिटी हुँदै रत्नपार्क पुग्नेछ । उक्त जुलुशको नेतृत्व स्थायी कमिटी सदस्य भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले गर्नेछन् । यसैगरी काठमाडौँ निर्वाचन क्षेत्र नं ८, ९ र १० तथा धादिङ, चितवन, मकवानपुर जिल्ला र गण्डकी प्रदेशबाट आएका कार्यकर्ता त्रिपुरेश्वरमा भेला भएर एनएसी–भोटाहिटी हुँदै रत्नपार्क पुग्ने र उक्त भेलाको नेतृत्व स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछन् ।
ललितपुर जिल्ला, खेलकुद र सुकुम्बासीको जुलुश कुपण्डोल–थापाथली–माइतीघ–भद्रकाली–एनएसी–भोटाहिटी हुँदै रत्नपार्क पुग्नेछन् । उक्त जुलुशमा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दकुमार थापा सहभागी हुनेछ । स्थायी कमिटी सदस्य घनश्याम भुसाल र जनार्दन शर्मा सहभागी हुने सम्पर्क कमिटी, आदिवासी जनजाति, बाँकी सबै जनसंगठनको जुलुश पुतलीसडक–प्रज्ञाभवन–घण्टाघर हुँदै रत्नपार्कमा समाहित हुनेछ । यसैगरी शान्तिबाटिकाबाट मजदुर संगठनको नेतृत्व केन्द्रीय संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ र सहसंयोजक योगेश भट्टराईले गर्ने बताइएको छ ।
यस्तै विद्यार्थीको जुलुश त्रिचन्द्र क्याम्पस, पेशागत क्षेत्र सबैको जुलुश वाल्मीकि विद्यापीठबाट शुरु हुनेछ । सबै जुलुश रत्नपार्कमा जम्मा भई मुल जुलुशमा परिणत हुने बताइएको छ । उक्त जुलुश रत्नपार्क–बागबजार–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–सहिदगेट–एनएसी–भोटाहिटी–रत्नपार्क–विद्युत् प्राधिरकण हुँदै सभामा परिणत हुनेछ । मञ्च तथा मुख्य नेतृत्वको सुरक्षा राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले गर्ने सङ्घर्ष समितिले जनाएको छ । जुलुशलाई मर्यादित बनाउँदै निर्धारित नारामात्र लगाउनुपर्ने निर्देशिकामा उल्लेख छ । सङ्घर्ष समितिले तोकिएको समयमै आवश्यकताअनुसारको दैनिक काम वा खानपान सकेर १०ः४५ मा निर्धारित क्षेत्रमा पुग्न पनि निर्देशन दिएको छ ।
सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यही माघ ३ गते बसेको केन्द्रीय संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकले विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यबकद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घ÷सङ्गठन तथा जनसमुदायमा अपिल गरेको थियो ।


