Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान र लोकतन्त्र विरोधी भएको बताउनुभएको छ । अपाङ्गतासँग सम्बन्धित विभिन्न संघसंस्थाले आज र आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्न चाहनेहरूले देशमा अस्तव्यस्तता ल्याई स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप लगाउनुभयो ।

संसद् सांसदहरूको जागीर खाने मात्रै थलो नभएकाले सांसदको काम हेरेर पुरस्कृत र दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्नेमा उहाँले जोड दिनुभयो । ‘‘स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउन खोजियो”, उहाँले भन्नुभयो, ‘‘संसद्मा पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागीर हो ? पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ । मैले निर्णय गर्ने अधिकार आफ्नो हातमा लिएको छैन । जनताका बीचमा जाऔँ । मेरो र अरूले गरेका कामको मूल्यांकन जनताले नै गर्छन् ।”

शारीरिक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने जनाउँदै अशक्तको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले बालबालिका सडकमा आउनुपर्ने अवस्था नरहेको र सडकमा आउनेलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य र सुनिश्चित भविष्यको प्रत्याभूति दिलाउने गरी सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, महिला तथा बालबालिकामन्त्री जुलीकुमारी महतोलगायतले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय