काठमाडौँ-
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्।
सो पार्टीका संघीय र प्रदेश सांसदहरु माघ १४ देखि माइतीघर मण्डलामा दैनिक धर्ना दिँदै आएका छन् । पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो ।
नियमित धर्नामा रहेका संघीय तथा प्रदेश सांसदहरुलाई साथ दिन आइतबार अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।
नेकपा प्रचण्ड-नेपाल पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन्।
नेकपा प्रचण्ड-नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छन्।


