चितवन
भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।
भरतपुर महानगरपालिका–१८ गुञ्जनगर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो ।
एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रमुख दाहालले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादनको माध्यम भएको बताउनुभयो । रनिङ शिल्डले भरतपुरमा दक्ष खेलाडी उत्पादन गर्ने वातावरण पनि सिर्जना भइरहेको दाहालको भनाइ थियो ।
भरतपुरलाई खेलकुद हबका रुपमा विकास गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेकोसमेत प्रमुख दाहालले जानकारी दिनुभयो ।
एक वडा, एक खेल मैदान, एक विद्यालय, एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेशस्तरीय खेल मैदान तथा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण भइरहेको उहाँको भनाइ थियो ।
उपप्रमुख चित्रसेन अधिकारीले कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा तीन वर्षदेखि भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन नसक्दा खेलाडी उत्पादन हुन नसकेको बताउनुभयो ।
खेल क्षेत्रबाट राज्यलाई चिनाउन यस्ता प्रतियोगिता आवश्यक रहेको उहाँको भनाइ थियो ।



