Friday 19 August 2022 / शुक्रबार, ३ भाद्र २०७९

बाँके, थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करिब चार हजार सिकलसेलका बिरामी छन् ।

बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका–११ फच्कहवाका पशुराम चौधरीलाई सिकलसेल एनेमिया रोगले निकै समस्या बनाएको छ । उपचारका लागि उहाँको लाखौँ रकम खर्चसमेत भएको छ । करिब ४० वर्ष उमेरका चौधरीलाई जन्मदै सिकलसेल रोग भएको हो । उहाँजस्ता बिरामीले निःशुल्क उपचार पाउनुपर्छ ।

नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै थकित हुनुभएका पशुरामको आर्थिक अवस्था नाजुक भइसकेको छ । पछि भेरी अस्पताल नेपालगञ्जमा जाँच गराउँदा उहाँलाई सिकलसेल एनेमिया भएको थाहा भयो । पशुरामलगायत थुपै्र मानिस बारबर्दिया नगरपालिकामा सिकलसेलका बिरामी छन् ।

बारबर्दियामा स्थानीय तहमा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बारबर्दियाका सबै स्थानीयवासीको निःशुल्क रगत परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको पूर्व नगरप्रमख दुुर्गाबहादुर थारूले बताउनुभयो । उहाँले बारबर्दियामा सिकलसेलका बिरामीको स्वास्थ्य जाँचका लागि नगर अस्पतालसमेत आफूले निमार्ण गरेको सुनाउनुभयो ।

त्यसैगरी बाँके स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरू भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको छ । पालिकामा थारू समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी र अन्य बिरामीको जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ जारी रहेको उहाँले जानकारी दिनुभयो ।

कतिपय बिरामीमा त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आसमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ खर्च भएको र त्यस्ता शारीरिक समस्या निको पनि नभएको बताउँछन् । सिकलसेल एनेमियाका बिरामीलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपिरहेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारूले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्पतालमा मोटो रकम खर्च भएको बताउनुभयो । ऋण खोजेर जम्मा गरेको रु ७० हजार खर्च भएको जानकारी दिँदै उहाँ आफूलाई सिकलसेल एनेमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउँनुहुन्छ ।

सिकलसेल विज्ञ डा राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनेमियाको दिगो समाधान भएको बताउनुभयो । उहाँले सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताउनुभयो । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ ।

“अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारू समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय