बागलुङ,
बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ ।
गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिनुभयो ।
“जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो”, उहाँले भन्नुभयो ,“हालसम्म ११४ जनालाई दियौँ, सम्पर्कमा नआएका र कागजात नबुझाएका २०/३० जना बाँकी होलान, प्रदेशले अर्कौ वर्ष बजेट पठाए पाउँलान् ।” राहत पाउनका लागि कागजात भने प्रमाणित हुन जरुरी हुन्छ ।
गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशका मृतकका परिवारलाई रु ५० हजार राहत दिने निर्णयअनुसार जिल्लामा कोरोनाका कारण मृत्यु भएका ११४ जनाका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको हो ।
सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।


