काठमाडौँ, असार २९,
काठमाडौँको सानो भ¥याङ्स्थित ‘स्वस्तिश्री गुरुकुल आइ वी वल्र्ड स्कूल’ र त्यहाँका विद्यार्थीले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएका छन् ।
विद्यालयका बालबालिकाद्धारा कविको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी कवि आचार्यप्रति सम्मान गरिएको उक्त कार्यक्रममा बालबालिकाले विविध प्रस्तुति तथा प्रदर्शन गरी भानुभक्तको योगदानको स्मरण गरेका थिए ।

विद्यालयकी शिक्षिका यशोदा पौडेलले गायत्रीमन्त्र पाठ गरेर कार्यक्रम शुरु गरिएक कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
समारोहमा कक्षा ९ मा अध्ययनरत छात्रा इसान्भी पाण्डेले नेपाली भाषा र भानुभक्तको बारेमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
कक्षा ४ का विद्यार्थीले चरीको विलाप कविता मिठो स्वरका साथ सामुहिक रुपमा प्रस्तुत गरेका थिए ।

कक्षा ५ का विद्यार्थीले देशप्रेमको भावले भरिएको गिती कविता गाउँछ गीत नेपाली गाएका थिए । कक्षा ६ विद्यार्थीले झ्याउरे छन्दमा रचित कविता भानुभक्तप्रति सामुहिक रुपमा प्रस्तुत गरे ।
भाषा र संस्कृतिको धरोहर मुलुकको पहिचान हो भन्ने कुरालाई मूर्तरुप दिन विद्यालयका छात्राद्धारा प्रस्तुत धिमे नृत्यले कार्यक्रमको विशेष शोभा बढाएको थियो ।
विद्यालयका नेपाली भाषा शिक्षक रामु ओझाले भानुको सम्झनामा कविता वाचन गरेपछि कक्षा ६ मा अध्ययनरत विद्यार्थी प्रणव भट्टराई र आलज रञ्जितद्धारा भानु र घाँसीको अभिनय गरिएको छोटो र प्रेरणामूलक लघुनाटक भानु र घाँसी प्रदर्शन गरिएको थियो ।

विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने छात्राहरुले भानु घाँसी कविता मिठो स्वरमा वाचन गरेका थिए । विद्यालयका नेपाली भाषाका शिक्षक श्याम केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकारले भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै नेपाली भाषाको विकासमा उहाँको योगदानको चर्चा गर्नुभएको थियो ।
“कुनै पनि देश हुनका लागि पहिले त्यस देशको भाषा र संस्कृति जीवित हुनुपर्छ, भाषा र संस्कृति जोगाउने कार्यका साथै विद्यार्थीहरुको प्रतिभा विकास गर्ने कुरामा हाम्रो विद्यालय सधैँ तत्पर छ”, चित्रकारले भन्नुभयो । आज संयोगले गुरुपूर्णिमासमेत परेकाले सम्पूर्ण गुरुलाई शुभकामना व्यक्त गरी कर्यक्रम सम्पन्न गरिएको थियो ।



