पोखरा, १६ साउन ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभएको छ ।
पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीअन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रमको उद्घाटन समारोहमा उहाँले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बद्ध सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।
दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विन्ध्यवासिनी मावि नेपालकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले यसले समग्र पोखरा र गण्डकी प्रदेशकै इज्जत बढाएको भन्दै प्रशंसा गर्नुभयो ।


