५ भदौँ ,
नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ ।
पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आज सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुदका लागि गर्नुपर्ने आवश्यक सबै प्रशासनिक र तयारीका सबै काम सोही सचिवालयबाट हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं कार्यकारी समितिका सचिव टङ्कलाल घिसिङले बताउनुभयो ।
सचिवालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिने र यसलाई नै प्रतियोगिताभरका लागि मुख्य काम गर्नेस्थल बनाइने उहाँले बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजलले सङ्घ, प्रदेश र स्थानीय सरकार तीनै तहको संयुक्त प्रयासबाट राष्ट्रिय खेलकुदलाई सफल बनाइने बताउनुभयो ।
राष्ट्रिय खेलकुद आयोजना गर्ने संवैधानिक जिम्मेवारी केन्द्रीय सरकारको भए पनि समग्र भूमिका सोही ठाउँको प्रदेश र स्थानीय सरकारको रहने खेलकुदमन्त्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदलाई सफल बनाउनु समग्र भूमिका आयोजनास्थल रहेको प्रदेश र स्थानीय सरकारको हुन्छ । त्यसैले गण्डकी सरकार र पोखरा महानगरपालिकासँग मिलेर प्रतियोगिता सम्पन्न गर्ने दृढ सङ्कल्प गरेका छौँ ।”



