१० भदौँ,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिङ्गो शिक्षाको केन्द्रविन्दु भएको बताउनुभएको छ ।
‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौती’ बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएकाले यसका शैक्षिक गतिविधिमा बाधा उत्पन्न हुन नहुने बताउनुभयो ।
“त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्र विन्दु हो”, शिक्षामन्त्री पौडेलले भन्नुभयो, “हामीले हल गर्न सक्ने कुरा हामी मिलेर हल गरौँ अरुलाई आरोप प्रत्यारोप लगाउने काम बन्द गरौँ ।”
विश्वविद्यालयमा बेथति बढ्दै गएको बताउँदै उहाँले त्यसलाई सुधार्न शिक्षा मन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
“त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुनु राम्रो पक्ष होइन, प्रधानमन्त्रीले पनि विश्वविद्यालयमा लगाइने तालाबन्दी सधैँका लागि अन्त्य गरिनुपर्ने बताउँदै आउनुभएको छ”, मन्त्री पौडेलले निर्देशन दिँदै भन्नुभयो, “समस्याको समाधान तालाबन्दी होइन, वार्तामार्फत टुङ्ग्याउँ नभए बल प्रयोग गरेर भए पनि तालाबन्दी खुलाऔँ ।”


