Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ, १२ भदौ
“एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ…”

जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसँगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार डा नवराज लम्साल वरिपरि मात्रै नाचिरह्यो ।

उकुसमुकसको अनुभवबीच ढोकाबाट बाहिरतिर हेर्दा श्रीमती सङ्गीता नातिनीका लागि किनिदिएको जुत्ता हातमा बोकेर आउँदै गरेको देखेपछि कवि नवराजले ‘अलि छिटो आऊ न…’ भन्न नपाउँदै श्रीमती सङ्गीताको जवाफ आयो, “किन र बूढा रु, मदन पुरस्कार जित्यौ कि क्या हो रु”

छिमेकी जिल्ला धादिङबाट काठमाडौँ छिरेको ३८ वर्षपछि साहित्यिक जीवनमा सबैभन्दा ठूलो खुसी र उपलब्धिको खबर सुनेपछिको पहिलो अनुभूति आइतबार राससलाई सुनाउँदै हुनुहुन्थ्यो–प्रसारण पत्रकारिताका लोकप्रिय प्रतिभा डा लम्साल ।
उहाँलाई ‘अग्नि’ महाकाव्यले यसपटक मदन पुरस्कार के पाउला र रु भन्ने नलागेको होइन ।

यसअघिका दुई महाकाव्य ‘कर्ण’ र ‘धरा’ ले पाउने आश गरिए पनि पाउन नसकेकाले यसपटक त्यस पुरस्कारतर्फ कवि लम्सालको त्यति ध्यान थिएन ।

मदन पुरस्कार गुठीले उत्कृष्ट आठभित्र पारेपछि यसपटक ‘अग्नि’ ले बाजी मार्ने अनुमान धेरैले गरेका थिए तर अन्तिम घोषणा हुनुअघि कवि लम्साललाई प्रसूति गृहभित्र लगिएको गर्भवतीको जस्तो अनुभव भएको थियो ।

विजयी घोषणा हुनुपूर्वको समय प्रसूति गृहभित्र बच्चा जन्मिएर च्याँ गर्दा बाहिर कुरिरहनेलाई छोरा या छोरी के होला रु त्योे शिशु कस्तो होला भन्ने कुतूहल भए जस्तै लागेको थियो कवि लम्साललाई ।

बीस वर्षसम्म त्यही महाकाव्यमा हरफहरु मुसारेर निखार गरिएको ‘अग्नि’ मा सीमान्तकृत वर्ग–समुदायका पीडा र भोगाइका गहन विषयवस्तु समेटिएका छन् ।

त्यही महाकाव्यले अहिले साहित्यिक बजार पिट्न थालेको छ । हालसम्म उक्त कृति पाँच हजार प्रति बिक्री भइसकेको छ ।

मुलुकको राजनीति र इतिहासकालदेखि पछाडि पारिएका पात्र र प्रवृत्तिहरुलाई अनुसन्धानका आधारमा ग्रामीण लोकलयमा काव्यमा उतारिएको ‘अग्नि’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरबारको समेत उल्लेख हुनुले यसले ऐतिहासिकता झल्काएको छ ।

बुकहिल प्रकाशनले बजारमा ल्याएको ४२ सर्गयुक्त महाकाव्यमा समाजमा सांस्कृतिक शोषणमा परेका पात्रका आवाजलाई सुललित शैलीमा उतारिएको छ ।

यस वर्ष साहित्यिक क्षेत्रमा तीन सय १० पुष्ठको उक्त ‘अग्नि’ महाकाव्यलाई पुरस्कृत गर्ने लहर नै चलेको छ ।

मदन पुरस्कार गुठीले घोषणा गर्नुअघि यस कृति सुदूरपश्चिम साहित्य समाज, सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्बाट उत्कृष्ट ठहरसहित पुरस्कार घोषित भइसकेको थियो भने पद्यश्री पुरस्कार पनि पाइसकेको थियो ।

साहित्यिक क्षेत्रको प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने निश्चयपछि कवि लम्साललाई मनभरिको खुसीसँगै जिम्मेवारीबोधले थिच्न थालेको छ ।

सस्ता र रुमानी विषय नलेखी नेपाली माटोको इतिहास, भूगोल, संस्कृतिमा टेकेर समय, समाज र संवेदनालाई साहित्यमा लेख्ने स्रष्टा नवराजका कलमले समाजमा रोग, भोक, शोक र गरिबीका बीच प्रेमिल विषयहरु लेख्न मान्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय