असोज, लमजुङकी कल्पना पौडेल घिमिरेले एसियन हेल्थ केयर प्रोफेशनल अचिभमेन्ट अवार्ड पाउनुभएको छ ।
बेंसीशहरस्थित लमजुङ मोडेल हस्पिटलका निर्देशक तथा वरिष्ठ नर्स पौडेललाई सिजन मिडियाले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत एसियन हेल्थ केयर प्रोफेशनल अचिभमेन्ट अवार्ड प्रदान गरेको हो । २९ सेप्टेम्बरमा युएईको याक एन यति क्लबमा आयोजित कार्यक्रममा उहाँलाई अवार्ड प्रदान गरिएको हो । उहाँले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको छ । उहाँसंगै ३४ जनालाई सम्मानित गरिएको छ ।

नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनालाई उक्त अवार्ड प्रदान गरिएको हो । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले अवार्ड प्रदान गरेको हो ।
सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरेको अवार्ड युपिएफ एसिया प्यासिफिकका चियर डा रोबेट किट्टेल अमेरिका, पूर्व मन्त्री एकनाथ ढकालका साथै युएईका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिनुभयो ।

सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक तथा व्यवसायिक क्षेत्रमा एसियन मुलका सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।


