मंसिर १८, २०७७
काठमाडौँ — विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्षसहित १३ नेता साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएका छन् । पार्टीमा मतदानपछि बहुमत सदस्यहरूले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग सहभागी हुने पक्षमा मतदान गरेका थिए । उपाध्यक्ष अजिता राई र कार्यालय व्यवस्थापन सचिव संगीता बाटाजुसहित १३ जनाले बिहीबार विज्ञप्ति जारी गर्दै साझासँगको एकतामा सहभागी नहुने घोषणा गरेका हुन् ।
‘अहिले एकीकरणका लागि सही समय होइन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुंग्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल पनि गरेका थियौँ तर त्यसको सकारात्मक नतिजा आएन,’ विज्ञप्तिमा भनिएको छ ।
विवेकशील नेपाली दलको यो पार्टीको स्वरुप सकिएको पनि उनीहरूको ठहर छ । ‘विवेकशील नेपाली दलको हालको संघीय समितिमा सदस्य रहेका ३५ मध्ये दुई पदाधिकारीसहित हामी १३ जनाले विवेकशील नेपाली दल र साझाको आगामी यात्रामा सहभागी नहुने व्यहोरा जानकारी गराउँछौँ, ।
त्यसरी असन्तुष्ट थप नेताहरूमा संघीय समिति सदस्यहरू कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी रहेका छन् ।
पहिले एकै ठाउँमा रहेका विवेकशील र साझा पार्टीको एकीकरण अन्तिम चरणमा पुगेको दुवै पार्टीले जनाएका छन् । नयाँ पार्टीको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे हुने गरी एकीकरण प्रक्रिया अघि बढेको बताइएको छ ।