Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

गण्डकी, २६ असोज
तेह्रौँ दक्षिण एशियाली खेलकुद ९साग०का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ ।

विसं २०३८ देखि सुरु भएको नेपाली राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा सम्पन्न गरेको पोखराले आफ्नो घरेलु मैदानमा चार दशकपछि नवौँ संस्करणको राष्ट्रिय खेलकुद सञ्चालन गर्ने मौका पाएको हो ।

औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल सञ्चालन भइरहेका छन् ।

पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुद भइरहँदा खेलप्रेमी त खुसी छन् नै प्रतियोगिताका लागि पोखरा आइपुगेका खेलाडी, अफिसियलसँगै दर्शकको स्वागतको पर्खाइमा रहेका पोखरेली पर्यटन व्यवसायीलाई पनि हर्षित बनाएको छ ।

खेलाडी तथा अफिसियल गरी १० हजारको जमघट रहने प्रतियोगितका सहभागीलाई पोखरामा स्वागत गर्न पाउनु पोखरेलीवासीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ ।

“यो प्रतियोगिताले यहाँको पर्यटनमा दूरगामी प्रभाव राख्छ”, उहाँले भन्नुभयो, “खेलकुद र पर्यटन एकअर्कामा परिपूरक जस्तै हुन्, पोखरा आउने खेलाडी तथा अफिसियलको आतिथ्यताका लागि पोखरेली पर्यटन व्यवसायी आतुर छन् ।”

पोखरा रङ्गशालाको चार सय १७ रोपनीभित्र विभिन्न खेलका पूर्वाधार एवं अन्य संरचना तयार छन् ।

राष्ट्रिय खेलकुदका लागि सिँगारिएको रङ्गशाला र खेलाडीको चहलपहल हेर्न लायक छ । पोखरा बजारमा ठाउँठाउँमा राखिएका स्वागतद्वारले पोखरा दुलही झैँ सिँगारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय