Tuesday 16 April 2024 / बुधबार, ५ बैशाख २०८१

काठमाडौँ, ६ कात्तिक
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ ।

आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो ।

नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो । एशिया प्रशान्त क्षेत्रको भन्दा अगाडि छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ ।

मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् ।
यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो रहेको सन्देश दिएको प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

“आइकाओको अडिट प्रतिवेदनपछि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढेको छ”, उहाँले भन्नुभयो, “यसले असाध्यै राम्रो सन्देश दिएको छ, नेपालको हवाई सुरक्षा प्रणाली राम्रो रहेको छ, नेपालले हासिल गरेको विश्वव्यापी हवाई परिपालनादरबाट नेपाल सबल देशभित्र परेको छ जुन देशको लागि गौरबको विषय पनि हो ।”

हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् ।

त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय