पाल्पा, ८ कात्तिक
कालीगण्डकी नदी लामो समयदेखि धेरैको चर्चा र बहसको विषय बनेको छ ।
राम्दीदेखि डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने अवधारणा सुरु भएदेखि नै यस नदीका सन्दर्भमा विभिन्न बहस हुने गरेको छ भने अर्कोतर्फ विश्वकै एकमात्र शालिग्राम पाइने नदी भएकाले पनि यो नदीको चर्चा सर्वत्र हुने गर्छ ।
नदीको सभ्यता संरक्षण र यहाँका प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, डाइभर्सन गर्न नहुने, पर्यावरण नखलबलिने गरी नदीजन्य पदार्थ उपयोग गर्न पाउनुपर्नेजस्ता विभिन्न विषयले चर्चा पाएको छ ।
कालीगण्डकी नदी डाइभर्सनको विरुद्धमा राम्दीदेखि तल्लो क्षेत्रमा रहेका स्थानीय सरकार लागिरहेको अवस्थामा सर्वोच्च अदालतमा परेको रिट र रिटसँगै प्राकृतिक स्रोत उपयोगमा परेको समस्या र समाधानका उपाय खोजी भएको छ ।
तल्लो तटीयवासीलाई कालीगण्डकी डाइभर्सन र नदीजन्य सामग्री चिन्ताको विषय बनेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
“कालीगण्डकी नदीका सम्बन्धमा सर्वोच्चमा रिट दायर परेको छ, नदीजन्य पदार्थ उपयोग गर्न नपाउँदा सबै विकास निर्माणका काम ठप्प भएका छन्”, नगरप्रमुख थापाले भन्नुभयो, “कालीगण्डकी करिडोरले २० वर्षअघि ल्यायो भने नदीजन्य पदार्थ निकाल्न नपाउँदा २० वर्ष पछाडि धकेल्छ कि भन्ने चिन्ताको विषय बनेको छ, नदीलाई असर नपर्ने गरी नदीजन्य पदार्थको उपयोग गर्न पाउनुपर्दछ” ।
वर्षौँसम्म नदीजन्य सामग्री निकालिएन भने फेरि अर्को असर पर्ने, नदीजन्य सामग्री थुप्रँदा नदीले धार नै परिवर्तन गरेर बस्ती तथा खेतीयोग्य जमिनमा असर गर्न सक्ने भएकाले नदीको पर्यावरणमा क्षति नहुने गरी उपयोग गर्न पाउनुपर्ने नगरप्रमुख थापाको माग छ ।
राम्दीबाट करिब तीन किलोमिटर दक्षिणी भागमा नौ मिटरको डायोमिटर बनाएर करिब २७ किलोमिटरको सुरुङमार्ग निर्माण गरी तिनाउ नदीमा कालीगण्डकीको पानी खसाल्ने योजना छ ।
तिनाउमा ७७ मेगावाटको बिजुली निकाल्ने, त्यसपश्चात बेलबास लैजाने र बेसाबासमा ६९ मेगावाट क्षमताको बिजुली निकाल्ने, कपिलवस्तु, नवलपरासी र रुपन्देहीका करिब ४० हजार हेक्टर जमिनमा सिँचाइ गर्ने नाममा कालीगण्डकीलाई रुपान्तरण गर्न खोजिएको छ ।
“विकासको विरोध होइन, सभ्यताको पहिचान हुनुपर्छ, विश्वकै एकमात्रै शालिग्राम शिला पाइने कालीगण्डकी नदी हाम्रो सभ्यता, धार्मिक, सांस्कृतिक नदी हो, हजारौँ मेगावाट बिजुली निकाल्ने अन्य थुप्रै नदी छन्, यस नदीलाई अन्यत्र प्रयोग गर्न दिनु हुँदैन, नदीको महत्व जोगाउन यसै वर्ष चौथो राष्ट्रिय नदी महोत्सव कालीगण्डकीको तटमा नै आयोजना गर्नेछौँ”, नगरप्रमुख थापाले भन्नुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले प्राकृतिक स्रोत, साधनको आपूर्ति गर्ने काली नदीको प्राकृतिक पर्यावरणलाई जोगाउनु आवश्यक रहेको र यस नदीको उत्पत्ति भएसँगै यहाँको आसपासका क्षेत्रमा धेरै फाइदा पुगेको बताउनुहुन्छ ।
“प्राकृतिक स्रोत साधनलाई प्रयोग गर्ने हाम्रो नैसर्गिक अधिकार हो, काली नदीको सभ्यता मेटियो भने पर्यावरण नै खलबलिन्छ”, उहाँले भन्नुभयो, “विसं २०६२÷६३ देखि नै कालीगण्डकी डाइभर्सनको सर्भे गर्ने क्रममा राम्दीमा म आफँै विरोध कार्यक्रममा सहभागी भएको छु, विकासको विरोधी होइन तर यहाँको प्राकृतिक स्रोत सम्पदा हाम्रो सभ्यता भएकाले यस नदीलाई जोगाउनु पर्दछ ।”
गिट्टी, बालुवाको कुरामात्रै समस्या होइन, प्राकृतिक सम्पदालाई कसरी संरक्षण र संवद्र्धन गर्ने, यसलाई जोगाएर भारी उपयोग कसरी गर्ने त्यसतर्फ योजनाबद्ध तरिकाले अब लाग्नुपर्ने समन्वय समितिका प्रमुख खनालको भनाइ छ ।
नदीसँग जोडिएका पालिकाहरूमा विज्ञहरूसँग बसेर नदीको पर्यावरण नबिग्रने गरी यसलाई कसरी उपयोग गर्ने सम्बन्धमा छलफल गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।
नदीजन्य पदार्थको उपयोग गर्न नपाउँदा भौतिक संरचना, विद्यालय भवन, सिँचाइ, खानेपानीका थुप्रै विकास निर्माणका काम रोकिएका छन् ।
यसलाई छिट्टै अगाडि बढाउनुपर्ने देखिएको छ । यसको विकास, संरक्षण, संवद्र्धन र उपयोग कसरी गर्ने भन्ने सन्दर्भमा खाका तयार पारेर निचोडमा जानुपर्ने देखिन्छ ।
नदीसँग जोडिएका थुप्रै असिञ्चित जमिन छन्, तीनलाई सिञ्चित गर्ने व्यवस्था मिलाएर बाँझिएका जमिनलाई हराभरा गरी कृषिबाली उत्पादनमा वृद्धि गर्न सकिन्छ ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दामोदरकुण्डबाट देवघाटसम्म करिब छ सय ३० किलोमिटरको दूरी रहेको कालीगण्डकी नदी बहुआयामिक, बहुसांस्कृतिक नदी रहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “नदीको सौन्दर्य र प्राकृतिक बहावलाई बिगार्ने, प्रदूषित बनाउने गरी नदीजन्य पदार्थ निकालिनु हँुदैन, वार्षिकरूपमा यस नदीको कुन–कुन किनारबाट नदीजन्य पदार्थ कति निकाल्न सकिन्छ त्यसको क्षमता हेरेर एकीकृतरूपमा वातावरण प्रभाव मूल्याङ्कन गरिनुपर्दछ, सामूहिकरूपमा एकीकृत मूल्याङ्कन गरिएन भने त्यसबाट आउने दुर्घटना हामी सबैले भोग्नुपर्दछ ।”
प्रत्येक पालिकाबाट निकालेको गिट्टी बालुवालाई मूल्याङ्कन गरेर नदीको क्षमताअनुसार नदीजन्य पदार्थ निकालियो भने दुर्घटना हुनबाट नदीलाई जोगाउन र धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस नदीलाई विश्व सम्पदा सूचीमा राखिनुपर्ने उहाँको जोड छ । अधिवक्ता शर्माले कालीगण्डकी सभ्यताको संरक्षणका लागि डाइभर्सनविरुद्ध मुद्दा दायर गरिएको बताउनुभयो ।
स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई कालीगण्डकीको सभ्यता, पर्यटन प्रवद्र्धन, सम्भावना अथाह रहे पनि उपयोगमा अनेक चुनौती सामना गर्नुपरेको तर अवसर लिनबाट भने बञ्चित हुनुपरेको बताउनुहुन्छ ।
कालीगण्डकी उपत्यकाको विकासका लागि छिमेकी पालिकाहरू मिलेर साझा धारणा बनाएर अघि बढ्नुपर्ने र नदी संरक्षण, यसको प्रयोगमा सबैको ध्यान जानु आवश्यक रहेको बताउनुहुन्छ, नवलपुर ९नवलपरासी सुस्तापूर्व० बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा ।


