मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेलको मनमोहक आकृति वाउ म्यागाजिनको पछिल्लो संस्करणको कभर पेजमा देख्न पाइएको छ । फेसन तथा ग्ल्यामर फोटोग्राफर सुजन सट्स, सुजन श्रेष्ठले कैद गरेको सोफियाको आकर्षक पोजहरु वाउ म्यागाजिनमा प्रस्तुत भएको हो । सोफियाले इज.स्वीमका स्वीम वेयर पहिरिएकी छिन् भने उनको स्टाइलिङ स्टाइलिष्ट अनुश श्रेष्ठले गरेका छन् भने हेयर मेकअप निलिमा बस्नेतले गरेकी हुन् । सोफिया मिस युनिभर्स नेपाल आयोजनाको तेस्रो संस्करण विजेता हुन् । उनी गएको २५ अगष्टमा सम्पन्न मिस युनिभर्स नेपाल २०२२ को फाइनल प्रतिस्पर्धामा विजेता घोषित भएकी हुन् । प्रतियोगितामा उनले सोशल इम्प्याक्ट अवार्ड पनि जितेकी हुन् । 
यस अघि सोफियालाई ग्रीन आर्टस् मिडियाले मिस ईको इन्टरनेसनल नेपाल २०२२ को रुपमा छनौट गरेको थियो भने त्यसपछि उनले मिस ईको इन्टरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । गत मार्च १७ मा इजिप्टमा सम्पन्न मिस ईको इन्टरनेसनल २०२२ को फाइनल प्रतिस्पर्धा उनी उत्कृष्ट २१ सम्मको यात्रा तय गर्न सफल भएकी थिइन् । पाँच फिट आठ इन्च अग्लो स्लीम फिगरकी धनी सोफिया मिस नेपाल २०१९को पनि प्रतिस्पर्धी हुन् । उनले मिस नेपाल २०१९ मा टप सेभेन फाइनलिष्टसम्मको यात्रा तय गरेकी थिइन् । यस बाहेक सोफियाले फिलिपिन्सको मनिलामा सम्पन्न ग्लोबल एशियन मोडल २०१९ मा पनि नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन भने सो प्रतियोगितामा उनी टप टेन फाइनलिष्ट मध्येकी एक भएकी थिइन् ।


