१६ कार्तिक,
पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।
विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ ।
रु तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् ।
जैविक मल उद्योग काठमाडौँले उपत्यका बाहिर प्रदेश नं १ शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो ।
प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्र्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ ।
मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो । तर यता सरकारले छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठ सकिए लगत्तै युरिया र डिएपी मल भित्र्याउने कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।


