रामपुर २० कात्तिक
सानैदेखि खेलमा औधी रुचि राख्ने सन्दीप श्रेष्ठ अहिले यस क्षेत्रमा भविष्य खोज्दै हुनुहुन्छ । खेलकुद प्रतियोगितामा उहाँ कक्षा छाडेर अन्यत्र सहभागी हुन जानुहुन्छ ।
पाल्पाको माथागढी गाउँपालिका–३ सराई बस्ने २० वर्षीय श्रेष्ठ कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँलाई फुटबल खेल नशाजस्तै बनेको छ । यसमै उहाँ ठूलो सपना बोकेर विभिन्न ठाउँमा प्रतिस्पर्धा गर्न पुग्नुहुन्छ । फुटबल खेल भनेपछि उहाँ सबै काम छाडेर प्रतिस्पर्धा गर्न जाने गरेको बताउनुहुन्छ ।
“खेलकुदको क्षेत्रमा राम्रो खेलाडी बनेर चिनिने धोको छ तर राष्ट्रियस्तरमा नाम कमाएकै केही चर्चित खेलाडी विदेश गएको खबर सुन्दा कतै हाम्रो पनि त्यस्तै अवस्था आउने पो हो कि भन्ने चिन्ता लाग्छ”, उहाँले भन्नुभयो, “राज्यले खेलकुदमा लगानी गरेर खेलाडीलाई स्वदेशमै बाँच्ने वातावरण सिर्जना गर्नुपर्छ ।”
घर पछाडि रहेको खेलमैदानले उहाँलाई यस क्षेत्रमा आकर्षित बनायो । फुर्सदको समयमा उहाँ आफूले बुझ्ने उमेरदेखि नै कपडा, प्लास्टिकका फुटबल खेल्न सिक्दै जाँदा यसप्रति उहाँको सीप विकास हुँदै गयो ।
स्थानीयस्तरका कार्यक्रममा सहभागिता जनाउँदै अहिले देशका ठूला सहर बजारमा आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा प्रतिस्पर्धा गर्न सक्ने सक्षम खेलाडीका रूपमा निस्कनुभएको छ ।
अहिलेसम्म काठमाडौँ, मोरङ, धनगढी, बुटवललगायतका विभिन्न ठाउँमा प्रतिस्पर्धा गर्न विभिन्न क्लबमार्फत जाने गरेको उहाँले बताउनुभयो ।
खेलकुदमा रुचि राख्ने युवालाई सानैदेखि नै खेल्ने वातावरण स्थानीय सरकारले मिलाइदिएमा धेरै खेलाडी उत्पादन हुने श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले अहिलेसम्म खेलमा प्रतिस्पर्धा गर्न जाँदा सम्बन्धित क्लबले नै खर्च बेहोर्ने गरे पनि पर्याप्त आर्थिक रकम नहँुदा खेलाडीलाई अप्ठ्यारो पर्ने गरेको बताउनुभयो । सराइ युवा क्लबको नेतृत्वमा अहिलेसम्म खेलमा प्रतिस्पर्धा गरिराख्नुभएको छ ।
उदीयमान खेलाडीलाई राज्यले संरक्षण गर्दै व्यावसायिकरूपमा खेल्ने आधार खडा गर्न उहाँको माग छ ।
सराईकै कमलबहादुर आले उमेरले २० वर्ष हुनुभयो । तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत उहाँले अध्ययनको समयबाहेक अन्य समय खेलमै खर्चंदै आउनुभएको छ ।
प्रतियोगितात्मक कार्यक्रम नपरेका बेला खेलसम्बन्धी जानकारी लिने, आफ्नो क्षमतालाई विकास गर्नेतर्फ उहाँको ध्यान तानिएको हुन्छ । उहाँ बुटवल, भैरहवा क्षेत्रमा प्रतिस्पर्धा गर्न पुग्नुभएको छ । घर नजिकै रहेको खेलमैदानमा आफूभन्दा माथिल्लो उमेर समूहका व्यक्ति खेल्ने गरेको देखेपछि आफूले पनि सिक्दै खेल क्षेत्रमा अगाडि बढेको उहाँ बताउनुहुन्छ ।
खेलकुदका विधाअन्तर्गत उहाँ फुटबल खेलमा राम्रो खेलाडीले चिनिनुहुन्छ । समय समयमा प्रतियोगितात्मक कार्यक्रम आयोजना भएमा धेरै खेलाडी उत्पादन हुने वातावरण सिर्जना हुने र खेलमा युवालाई हौसला बढ्ने उहाँ बताउनुहुन्छ ।
“खेलकुदका कार्यक्रम अति न्यून छन्, खेल्ने रहर गरेर मात्रै भएन, पूर्वाधार तयार छैनन्, राम्रो खेलाडीलाई यसैबाट जीवन धान्ने आधार बन्न सकेको छैन, खेल खेलेर बाँच्ने आधार भयो भने अन्र्तराष्ट्रियरूपमा नै खेल्न सक्ने खेलाडी स्थानीयस्तरमा नै छन्”, उहाँले भन्नुभयो ।
स्वास्थ्यका लागि खेल अपरिहार्य छ । खेलकै माध्यमबाट राष्ट्रलाई विश्वसामु चिनाउन सकिन्छ । खेल खेल्ने वातावरण तल्लो तहदेखि नै राष्ट्रियस्तरसम्म सिर्जना भएमा धेरै खेलाडी जन्मनेछन् । खेलमा भविष्य खोजेका युवालाई राम्रो आधार खडा गर्नुपर्छ ।
खेलले बालबालिका, युवायुवती, ज्येष्ठ नागरिक सबै उमेर समूहलाई आकर्षित बनाएको हुन्छ । स्थानीयस्तरमा हुने विभिन्न खुल्लास्तरीय खेलकुदका कार्यक्रममा अवलोकन गर्न पुग्ने गरेको युवा प्रदीप पाण्डेय बताउनुहुन्छ ।
“खेलाडीलाई दर्शकको राम्रो सहयोग र साथ भएमा खेल क्षेत्रमा उनीहरूको उत्साह थपिने, जोश, जाँगर बढ्नेछ, खेल एउटा नशा र मनोरञ्जनको साधन बनेको छ, जहाँ हेर्दा दर्शकलाई एक किसिमको आनन्दको अनुभूति दिलाउँछ”, उहाँले भन्नुभयो ।
प्रतिस्पर्धा गर्न आर्थिक समस्याले राम्रा र सक्षम खेलाडी पछाडि परिरहेका छन् । खेलाडी आफैँले रकम उठाएर अन्यत्र प्रतिस्पर्धा गर्न जानुपर्दा समस्या हुने गरेको उनीहरूको गुनासो छ ।
सम्बन्धित स्थानीय सरकारले खेल क्षेत्रमा चासो दिएर खेलाडीको मनोबल वृद्धि हुने खालका कार्यक्रममा ल्याउनुपर्ने खेलाडीको माग छ ।
खेलाडीको सम्मान र उनीहरूको मनोबल वृद्धि गराउन स्थानीयस्तरमा हुने गरेका खुल्ला प्रतियोगितात्मक कार्यक्रमले खेल खेल्नुपर्ने र अवलोकन गर्नुपर्छ भन्ने धारणा बसालेको बताउनुहुन्छ, सिर्जनशील युवा क्लबका निवर्तमान अध्यक्ष ओमप्रकाश रेग्मी ।



