Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ, २४ कात्तिक । जसका कोही छैनन्, जो सडकमा वेवारिसे र असहाय भएर अति कमजोर अबस्थामा भौतारिरहेका छन्, जो मनोरोगी भएर आफूले के गरिरहेको छु भन्ने समेत हेक्का राख्न सक्दैनन् ती मानिसलाई उद्धार गरी स्वास्थ्योपचार तथा पालनपोषण गर्ने र पारिवारिक पुनःमिलन गराउने काम गर्दै आएको संस्था हो ‘मानवसेवा आश्रम ।’

आश्रमका विभिन्न जिल्लाका १९ सेवा केन्द्रहरुमा एक हजार ५०० जना त्यस्ता व्यक्ति आज पनि आश्रय पाइरहेका छन् । आश्रममा आउनु अघि उनीहरु पारिवारिकलगायत विभिन्न कारणले हेलत्वको जीवन व्यातित गर्न बाध्य थिए, फोहरका थुप्रोलाई साथी बनाएर सडकका चिसो छिँडीमा बस्थे, जसले छिःछीः र दुरदुरको सामना गर्नुपरिरहेको थियो ।

आज त्यही मानिसहरुको जीवनमा आमूल परिवर्तन देखिएको छ । अन्य थप मनोरोगीहरुको लगातार सडकबाट उद्धार भइरहँदा संख्या दैनिक बढ्दो क्रममा रहेकाले उनीहरुको पालनपोषणमा मात्रै दैनिक लाखौँ खर्च हुनेगर्छ ।

उनीहरुलाई भाडाको घरमा राख्दा मासिक भाडा जुटाउन मुस्किल परिरहेकाले आफ्नै भवनमा राख्न पाए खर्च पनि जोगिने र आश्रममा आश्रित मानवहरुले आफ्नै घरको अनुभव लिनसमेत पाउने भएकाले आश्रमले अहिले देशैभरका शाखा कार्यालयको भवन निर्माणको कामलाई तिब्रता दिइरहेको छ ।

दाताहरुबाट मुठिमुठी संकलन गरेर उनीहरुको संरक्षण र लालनपालन गर्दै आएको आश्रमसामु निर्माणाधीन घर पुरा गर्ने एउटा चुनौती छ भने दैनिक पालनपोषण कै लागि खर्चको जोहो गर्न हम्मेहम्मे भइरहेकाले आर्थिक जोहो गर्न मानवताका लागि नेपथ्य संगीता यात्रा (नेपथ्य लाइभ कन्सर्ट) कार्यक्रम गर्न लागिएको हो ।

संगीत यात्रामा विक्री हुने हरेक टिकट तथा प्रायोजकहरुबाट प्राप्त रकमले यहाँ आश्रित सहयोगापेक्षी मानवहरुको सहयोगमा योगादन पुग्नेछ ।

नेपथ्य लाइभ कन्सर्टको शुरुवात विराटनगरमा मङ्सिर १६ गतेबाट हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालापछि २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौरमा कार्यक्रम गरिनेछ ।

त्यसपछि २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।

त्यसैले नजिकका आश्रम कार्यालयबाट समयमै टिकल सुरक्षित गर्नुहुन मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सबैमा अपिल गर्नुभएको छ ।

उद्देश्यलाई बुँदागत रुपमा भन्दा…

१, देशभर निर्माण भइरहेका र निर्माण शुरु हुन लागेका मानवीय मन्दिर (मानवसेवा आश्रमको निर्माणाधीन भवन) लाई पूर्णता दिइ भाडामा रहेको आश्रमलाई आफ्नै भवनमा सार्न ।

२, सयौँको संख्यामा रहेका असहाय असक्त, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरु आश्रित मानवसेवा आश्रमका लागि कुनैपनि प्रकारको विपत्ती, भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी कम्तिमा रु २५ करोड बराबरको अक्षयकोष स्थापना गर्न ।

३, देशका कुनै पनि स्थानमा अति कष्टपूर्ण जीवन विताइरहेका मानवहरु देखिए÷भेटिए यथाशिघ्र उद्धार हुने परिपाटी निर्माण गर्ने, परिवार भेटिएकाहरुलाई पारिवारिक पुनःमिलान तथा औषधोपचार प्रयोजनका लागि उद्धार एम्बुलेन्स व्यवस्थापन गर्न ।

४, जनमानसमा मानवताको बीजारोपण गरी घरपरिवार तथा आफन्तबाट परित्यक्त भई सडकमा पुगेका मानवहरुको यथार्थ अबस्था बुझाई उनीहरुप्रति नागरिकले गर्नुपर्ने मानवीय व्यवहारका बारेमा सचेतना दिन ।

५ सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि आमजनताबाट गरिएको अपेक्षा पुरा गर्न र सडकमा आश्रित हुनुपर्ने अबस्थाको अन्त्यका लागि जनचेतना जगाउन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय