ललितपुर, ८ मङ्सिर । पत्रकारिताको अनुभवसमेत संगाल्नुभएका शिक्षा तथा समाजसेवी एबं कुशल राजनीतिक व्यक्तित्व रामकृष्ण चित्रकार अरु राजनीतिज्ञ भन्दा अलि भिन्न खालको सोच राख्ने व्यक्ति हुनुहुन्छ ।
उहाँ बोलेको कुरा पुर्याउने र नहुने कुरा बोल्दै नबोल्ने समाजलाई साँच्चै परिवर्तन गर्नुपर्छ भन्ने दृढ इच्छाशक्तिका साथ अघि बढ्ने खालको हुनुहुन्छ ।
विगतमा राजनीतिमा छलछामका कुरा धेरै भएका पाइन्छन् । तर चित्रकार भने जनतालाई फोस्रा आश्वासन कहिल्यै नदिने जिकिर गर्नुहुन्छ । त्यसैले अहिले उहाँ ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा विजयी हुन सफल हुनुभयो ।
सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकार १६३ मत बढी ल्याएर विजयी हुनुभयो । उहाँले नेकपा एमालेका ज्ञानेन्द्र शाक्यलाई पराजित गर्नुभएको हो ।
चित्रकारले ६ हजार ९९७ मत पाउँदा नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८५० मत प्राप्त गर्नुभयो । शाक्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सालो तथा यसअघि बहालवाला सांसद पनि हुनुहुन्थ्यो ।
विज्ञ समुह बनाएर विशेष योजनाका साथ अघि बढ्ने सोच

चित्रकारले जितसँगै सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनमा विज्ञ समुह नै बनाएर विशेष योजनाका साथ अघि बढ्ने प्रण गर्नुभएको छ ।
२०४२ लिदेखि निरन्तर राजनीतिमा लाग्नुभएका चित्रकार नेविसंघको केन्द्रिय उपाध्यक्ष हुँदै विसं २०६४ मा संविधासनसभा सदस्य बन्नुभयो । उहाँ नेपाली काँग्रेसको महासमिति सदस्य बनेर काम गर्नु भयो ।
उहाँ जितेको क्षेत्र सम्पदाहरुको खानी भएको क्षेत्र हो । त्यसको मर्मत र सम्भारको लागि कोष निर्माण गरेर अघि बढ्ने पनि उहाँको योजना छ । विशेषगरी ललितपुर २ (ख) लाई हस्तकलाको राजधानी बनाउने योजना रहेको उहाँले सुनाउनुभयो ।
पर्यटन विकास, सर्वसाधारणको आयस्रोत वृद्धि, शिक्षा र रोजगारीका लागि विदेशीने क्रमलाई रोक्ने, आयआर्जन र सीपमूलक रोजगारीको सृजना गर्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो ।
यसका साथै भौतिक पूर्वाधार विकास, खानेपानी, खेलकुद, शिक्षा, फोहोर तथा ढल व्यवस्थापन, व्यवस्थामा विशेष योजना नै बनाएर लाग्ने पनि उहाँले बताउनुभएको छ । चित्रकार भन्नुहुन्छ, “मतदाताले जुन विश्वास गरेर जिताउनुभएको छ, उहाँहरुको विश्वासमा ठेस पुग्ने काम गर्ने छैन ।”
अबका भावी योजनाबारे एसनेपाली डटकमसँगको कुराकानीमा चित्रकार थप्नुहुन्छ :–

म प्रति विश्वास गरेर मतदाताले मत दिइ जिताउनुभयो, त्यसप्रति आभारी छु । मंले यहाँहरु माझ जुन संकल्प गरेको छु, त्यसलाई बेमाइनी र भ्रष्टाचार नगरी सुशासन र पारदर्शीताका साथ काम गर्नेछु तपाइहरुको मत खेर जान दिने छैन ।
निर्वाचनको समयमा मत माग्दै गर्दा जे–जे प्रतिबद्धता व्यक्त गरेको थिएँ, त्यसलाई अक्षरस कार्यान्वयनको तहमा लिएर जाने मेरो पहिलो दायित्व हो । त्यसका लागि म विशेषज्ञ तथा विज्ञ समूह निर्माण गरेर कार्ययोजना बनाइ अघि बढ्नेछु ।
पहिलो हाम्रो प्राथमिता भनेको यो प्रदेश संस्कृति र सम्पदाको धनी प्रदेश हो । गुठी लाइफ लाइन जस्तै बनेको छ । त्यसलाई समृद्ध र सुदृढ कसरी गर्न सक्छौँ भन्ने नै पहिलो एजेण्डा हुनेछ ।
दोस्रोमा यहाँ बढी हस्तकलाको उत्पादन हुन्छ । त्यसलाई कसरी प्रवद्र्धन गर्ने, कसरी विकास गर्ने र भइरहेका समस्यालाई कसरी समाधान गर्ने भन्नेमा नै मेरो ध्यान जान्छ ।
तेस्रो यसलाई कार्यान्वयन गर्न पर्यटक भित्र्याउनु अनिवार्य छ । त्यसैले यो क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा विकास गर्ने मेरो योजना छ ।
चैथो ललितपुर महानगर र वडालाई समृद्ध पारी जनतालाई स्थानीय सरकारको अनुभूत कसरी गराउने र त्यसको विकासका लागि नीति र योजना बनाएर अघि बढ्ने योजना छ ।
पाँचौँ काम भनेको काम गरेर खाने व्यक्तिहरुका लागि रोजगार वृद्धि गर्ने र लगानीको वातावरण निर्माणमा हामी काम गर्छौँ ।
छैठौँमा पानीको श्रोतहरु जोडेर शुद्ध खानेपानी ल्याउने, महिला दिदी बहिनीको ससख्त्तिकरण गर्ने, युवाहरुलाई विदेश जानबाट रोक्ने खेलाडीका समस्याहरु पनि छन् । खेल र खेलाडीलाई मुलुकको पहिचानको रुपमा कसरी विकास गर्ने भन्ने एजेण्डाहरु रहेका छन् ।
सातौँमा म शिक्षा र खेलकुद, सामाजिक कामसँग जोडिएको मान्छे तथा पत्रकारिता पनि गरेर आएको मान्छे भएकाले ती क्षेत्रलाई कसरी विकास गर्दै अघि बढाउने भन्ने सोच छ ।
शिक्षालाई सर्वसुलभ कसरी गराउने, विदेशमा विद्यार्थी पलायन हुने अबस्था छ, नेपालको शिक्षा पद्धतीलार्ई अविश्वास गरेर बाहिर गइरहेको अबस्थालाई कसरी रोक्ने ? भन्ने चिन्ताको विषय छ ।
नेपालमा इन्स्टिच्युटहरुलाई कसरी गुणस्तरयुक्त बनाउने र विद्यार्थीहरुलाई नेपालमै कसरी राख्ने भन्नेमा आफ्नो ध्यान रहनेछ ।


