१२ मंसिर,
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ ।
भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले जनाएको छ ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी वेङ्क्वेट रानीहलमा आज आयोजित पत्रकार सम्मेलनमा कूल दुई सय १६ घटनामध्ये प्रचारप्रसार तथा ¥यालीमा एक सय ४४, घरदैलोमा १२, आमसभामा १८, प्रचारप्रसार सामाग्रीमा १३ र कलाकारका रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जानकारी दिएको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराए पनि निर्वाचनको समयमा कुनै न कुनै रूपमा बालबालिकाको प्रयोग भएको पाइन्छ ।
सिजपका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा सबैभन्दा बढी लोकतान्त्रिक बाम गठबन्धन दलहरूबाट बालबालिका प्रयोग भएका छन् । तीमध्ये बाम गठबन्धन दलहरूबाट १८, नेकपा ९एमाले० बाट ७१, अन्य सात दलबाट ३४ र स्वतन्त्र उम्मेदवारबाट १३ घटनामा बालबालिकाको प्रयोग भएको सिजपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दलगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२, नेकपा (माओवादी केन्द्र)ले १३, नेकपा (एकीकृत समाजवादी)ले आठ, लोकतान्त्रिक समाजवादी पार्टीले तीन, लोकतान्त्रिक वाम–गठबन्धन दलहरूले ५२, नेकपा एमालेले ७१ घटनामा बालबालिकालाई प्रयोग गरेको देखिन्छ ।
एमाले, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठबन्धनबाट नौ घटनामा बालबालिका प्रयोग भएका सिजपले उल्लेख गरेको छ ।
राप्रपाले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, स्वतन्त्र उम्मेदवारहरूले १३, जसपाले तीन र विवेकशील साझा पार्टी, नेपाल सुशासन पार्टी र जनमत पार्टीले एक÷एक घटनामा बालबालिका प्रयोग गरिएको पाइएको छ ।


