काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिइएका छन् ।
आजको जनप्रदर्शनलाई प्रचण्ड–नेपाल समूहले प्रतिष्ठाको विषयका रुपमा समेत हेरिएको छ । नेकपाले काठमाडौँको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्दैछ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट निस्केको जुलुश भृकुटीमण्डपतर्फ अगाडि बढेका छन् ।
टेकुबाट स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट गिरिराजमणि पोखरेल र लिलामणि पोखरेल, मैतेदेबीबाट हरिबोल गजुरेल, नक्सालबाट देवेन्द्र पौडेल, लैनचौरबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, शान्तिबाटिकाबाट मुकुन्द न्यौपाने, त्रिचन्द्र क्याम्पसबाट योगेश भट्टराई र पूरानो बसपार्कबाट अमृतकुमार बोहोराले जुलुशको नेतृत्व गर्ने गरेका छन् ।
नेकपाले राजधानीलगायत आसपासका जिल्लाबाट करिब ५० हजार कार्यकर्ता काठमाडौं उतार्ने घोषणा गरेको थियो । नेकपाले संसद् विघटनको विरुद्धमा जनप्रदर्शन गर्न सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।