गत पौष २८ गते दरबारमार्ग स्थित होटल याक एण्ड यति होटलको प्रेक्षालयमा भारतीय अभिनेत्री, टि.भि. प्रस्तोता एवं रियालिटी शो निर्णायक समेत रहेकी बलिउड डिभा मलाईका अरोरा सुन्दर मुस्कान सहित आफ्नो बान्की परेको जिउडाललाई आकर्षक विरालो चालको हिंडाईमा प्रस्तुत हुँदै द ज्वेलरी फेसन रनवेको ¥याम्पका उत्रेपछि कार्यक्रममा उपस्थित अधिकांशले आफ्नो मोबाइल फोनमा उनको त्यो उपस्थितिलाई कैद गर्न व्यस्त देखिए । मलाईका सो कार्यक्रममा इन्टरनेसनल शो स्टपरका रुपमा ¥याम्पमा देखिएकी थिइन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको तीन दिने जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ अन्तर्गतको ज्वेलरी फेसन शोमा मलाईकाको प्रस्तुति देख्न पाइएको थियो ।

आरबी डायमण्ड ज्वेलरीको प्रस्तुतिमा फेसन डिजानर मनिश राईको पहिरन सृजना अन्तर्गत नेपालका कहलिएका व्यसायिक मोडलहरुको प्रस्तुति संगै अगाडि बढेको सो ज्वेलरी फेसन शोमा नेपाली अभिनेत्रीत्रय स्वस्तिमा खड्का, मल्लिका महत, उपासिंह ठकुरी, पूर्व मिस नेपालद्वय अनुष्का श्रेष्ठ र ईभाना मानन्धर तथा सेलिब्रेटी मेकअप आर्टिष्ट स्नेहा राणा लगायतले विभिन्न चरणमा शो स्टपरका रुपमा आफूलाई प्रस्तुत गरेका थिए । कार्यक्रममा धनश्री ज्वेलर्स डिसी डायमण्ड ज्वेलर्स, गणपती ज्वेलर्स, क्वीन्स ज्वेलर्स, मारिगोल्ड ज्वेलर्स लगायतकाको विभिन्न अवसर तथा प्रयोजनका लागि उपयुक्त आकर्षक डिजाइनका गरगहनाहरुलाई फेसन रनवेमा देख्न पाइएको थियो । गायिका सुवानी मोक्तानको सांगीतिक प्रस्तुति समेत देख्न पाइएको सो फेसन कार्यक्रमको कोरियोग्राफी सुपर मोडल सविता कार्कीले गरेकी थिइन् ।


