Thursday 28 March 2024 / बिहीबार, १५ चैत्र २०८०

काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हँुदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताउनुभएको छ । उहाँले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्नसक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले शहीदले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको जनाउँदै भन्नुभएको छ, “देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ ।”

उहाँले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमालेले अग्रसरता लिएको बताउनुभयो । उहाँले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहेको उल्लेख गर्दै लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्ने बताउनुभयो ।

“जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउनुपर्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यसका लागि लोकतान्त्रिक अभ्यास व्यक्ति र समूहका निजी दूराकाङ्क्षाको पूर्तिमा आधारित नभएर स्तर राजनीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको उद्देश्यमा केन्द्रित हुनुपर्छ । अमर शहीदको बलिदानीले हामीलाई गरेको मार्गदर्शन पनि यही हो ।”

सन्देशमा जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उल्लेख छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय