Sunday 6 September 2026 / सोमबार, २२ भाद्र २०८३

दमौली, तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ ।गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो ।

बास्केटबलका प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद यहाँ आयोजना भएपछि जिल्लामा महिला खेलाडीको आकर्षण बढ्न थालेको बताउनुभएको हो । “पहिला खेलप्रति खासै चासो थिएन तर अहिले महिला खेलाडी यसतर्फ आकर्षित भएका छन्”, उहाँले भन्नुभयो ।

प्रशिक्षक श्रेष्ठका अनुसार उक्त खेलमा गण्डकी प्रदेशको टोलीमा यहाँँका खेलाडी सहभागी गराउन नसकिएपनि आगामी दिनमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना भइरहनेछ ।बास्केटबलप्रति खेलाडीको आकर्षण बढ्न थालेपछि स्थानीय तहले पनि यसतर्फ चासो दिएको र व्यास नगरपालिकाले राष्ट्रपति रनिङ सिल्डमा यस खेललाई समावेश गरेको छ । “पालिकाले विद्यालयस्तरदेखि नै बास्केटबलप्रति रुचि बढाउन पहिलो पटक राष्ट्रपति रनिङशिल्डमा समावेश गरेको हो, यसले खेलप्रति रुचि राख्ने विद्यार्थीलाई अवसर प्रदान गरेको छ,” नगरपालिका–२ का वडासदस्य सुरेश वाग्लेले भन्नुभयो ।

दमौली बजारमा तीन वटा बास्केटबल कोर्ट छन् । व्यास नगरपालिका–३ मा हैरान्स क्लबको सक्रियतामा एउटा कोर्ट निर्माण गरिएको त्यसमा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

वडा नं १ को निर्मल माध्यमिक विद्यालयमा राष्ट्रिय खेलकुद परिषद्को रू ४० लाखको लगानीमा दुई वटा कोर्ट निर्माण गरिएको छ । हैरान्स क्लबले अन्तरविद्यालयस्तरीय बास्केटबल रनिङशिल्ड आयोजना गरेको छ । यस खेलमार्फत् पर्यटन प्रबद्र्धन गर्ने र कुशल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रवीन पौडेलले बताउनुभयो ।

“जिल्लामा यसअगाडि बास्केटबल प्रतियोगिता आयोजना भएका थिएनन्, अब क्लबको तर्फबाट प्रत्येक वर्ष यसलाई निरन्तरता दिन्छौँ,” उहाँले भन्नुभयो । प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजका विद्यार्थी सहभागी छन् । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी सहभागी छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । त्यस्तै थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय