झन्डै चार महिना भन्दा लामो समयको तयारी पछि आउँदो चैत्र २३ गते ८३ जना विद्यार्थी फेसन डिजाइनरहरुको मिहेनत, लगन, धैर्यता, समयको लगानीले मूर्त रुप पाउने भएको छ । नमूना कलेज अफ फेसन टेक्नोलजीमा अध्ययनरत १७ औं ब्याचका ८३ जना विद्यार्थी फेसन डिजाइनरहरुको सृजनशीलता र कल्पनाशीलताको वास्तविक स्वरुप विभिन्न ९ वटा थीम अन्तर्गतका ८३ वटा रेग्युलर तथा ९ वटा क्रियटिभ डिजाइनका पहिरनहरु १७ औं ग्राजुएसन फेसन शो मार्फत् प्रस्तुत गरिंदैछ ।
राजधानी शहरको सोल्टीमोडस्थित होटल सोल्टीमा भव्य रुपमा आयोजना गरिन लागिएको यो फेसन कार्यक्रमलाई कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत प्रस्तुत गरिनेछ । ६ जना युवा मोडल र २५ जना युवती मोडलहरुको प्रस्तुतिलाई फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको निर्देशनमा उक्त फेसन कार्यक्रमले मूर्त रुप प्राप्त गर्नेछ । नेपालको अग्रणी फेसन डिजाइनर श्रीमती ज्ञानी शोभा तुलाधर संस्थापक प्रिन्सपल रहेको नमूना कलेज अफ फेसन टेक्नोलजी यो १७ औं ब्याचका विद्यार्थीहरुको ग्राजुएसन फेसन शो हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नमूना कलेजमा अध्ययनरत १७ औं ब्याचका विद्यार्थी डिजाइनहरुको चार वर्षको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको पढाई अन्तर्गतको ८औं सेमेष्टरको फेसन शो विषयको परिक्षाको रुपमा सो फेसन कार्यक्रम संचालन हुँदैछ र समग्र प्रस्तुतिलाई सोही अनुरुप मुल्यांकन गरिनेछ ।
९वटा चरणमा प्रस्तुत गरिने यो ग्राजुएसन फेसन शोको सम्पूर्ण आयोजकीय जिम्मेवारी तथा व्यवस्थापकीय अविभारा पनि १७ औं ब्याचका विद्यार्थी डिजाइनरहरुले नै निर्वाह गरेका छन् । कल्पनम् सत्यतात् नामक उक्त ग्राजुएसन फेसन शोलाई गालियम सेलेस्टाइट, डार्कनेस रिभ्याम्प, मिस्टिक इपिफानी, राजमटाज, आर्टिस्ट्री अफ एडभर्सिटी, क्रीप अन डार्क, ग्रीफनेज, नियन परेड र एसेन्ट्रिक रिल्याक्स्ड एज् शीर्षक अन्तर्गत विविध डिजाइनका मनमोहक पहिरनहरु प्रस्तुत गरिनेछ । यस नेपाली डटकम यो फेसन कार्यक्रमको अफिसियल अनलाइन मिडिया पार्टनरका रुपमा रहेको छ ।


