काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा होमिनुपर्ने बताउनुभएको छ ।
तमू (गुरुङ) समुदायको तमू ल्होछार र ल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा आज शुभकामना दिँदै उहाँले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः सङ्घर्ष गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।
जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादी सल्बलाउन थालेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको बताउनुभएको छ ।
आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्व यसवर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै पूर्णसावधानीका उपाय अवलम्बन गर्दै मनाउन पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको अध्यक्ष दाहालले जनाउनुभएको छ ।