फेसन डिजाइनिङ अध्यापन गराउँदै आएको आईआईएफटी नामक संस्थाले नियमित रुपमा आयोजना गर्दै आएको ड्रेस टु इम्प्रेस नामक फेसन कार्यक्रमको आठौं संस्करण सम्पन्न भएको छ । राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा संचालन गरिएको उक्त प्रतिस्पर्धात्मक फेसन कार्यक्रममा आईआईएफटीमा अध्ययनरत एक सय तीस बढी फेसन डिजाइनिङका विद्यार्थीहरुले आफ्ना थरि थरिका सृजनाहरु प्रस्तुत गरेका थिए ।
चारवटा चरणमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रममा सहभागि विद्यार्थी डिजाइनरहरुलाई चार समूह विभाजित गरिएको थियो भने हरेक समूहका लागि छुट्टा छुट्टै थिम निर्धारण गरिएको थियो । सोही अनुसार आ आफ्नो समूहलाई परेको थिम अनुसार सहभागिहरुले आफ्नो कल्पनाशीलतालाई पहिरनको रुपमा सृजनात्मक अभिव्यक्ति दिएका थिए । पहिरन सृजना गर्ने डिजाइनर स्वयं आफैंले सृजना गरेको पहिरनलाई पहिरिएर ¥याम्पमा मोडलका रुपमा प्रस्तुतिकरण दिएका थिए ।
काठमाडांैं विश्वविद्यालयका उपकुलपति प्रो.डा.भोला थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो फेसन कार्यक्रमको कोरियोग्राफी विपना थापाले गरेकी हुन् । कार्यक्रममा बेष्ट आउट अफ वेष्ट थिम अन्तर्गत अन्जुमान बानो, फाइभ सिजन अन्तर्गत ममता राई, फाइभ एलिमेन्ट्स अन्तर्गत करुणा अर्याल तथा बोल्ड एक्सेसरिज अन्तर्गत दमयन्ति अधिकारीलाई विजेता चयन गरिएको थियो । विजेताहरुलाई अन्य पुरस्कारका साथै प्रोत्साहन स्वरुप जनही पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।


