काठमाडौं । विश्वव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोपको परीक्षण सफल बन्दै गर्दा यतिबेला कोरोना महामारी अन्त्यको आशा जाग्दै गएको छ । नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न राष्ट्रहरुले संक्रमणविरुद्ध खोप दिन सुरु गर्ने बताउँदै आएका छन् । नेपालले पनि कोभिड–१९ को खोपलाई तत्कालै ल्याउन कुटनीतिक संवादलाई तीव्रता दिएको जनाएको छ । शुक्रबार मात्रै अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमै आयोजित कार्यक्रममा तत्कालै खोप ल्याउने र नागरिकहरुलाई निःशुल्क रुपमा वितरण गर्ने बताएका छन् ।
अहिले कोरोना संक्रमणविरुद्ध नागरिकमा कन्फिडेन्ससमेत बढ्दै गएको छ । महामारीका कारण भयभित भएका नागरिकहरु अहिले सामान्य जनजीवनमा फर्किसकेका छन् । एकजना संक्रमित हुँदा लकडाउन गर्ने राज्यले अहिलेले दैनिक हजारौँ सङ्क्रमण थपिँदा पनि यसलाई सामान्य रुपमै लिँदै आएको छ । अवस्था सामान्य बन्दै गएपछि यतिबेला बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको समेत बढ्दै गएको छ । भविष्यमा थप बढ्दै जाने सम्भावना देखिएको छ । यसले कोभिडका कारण घट्दै गएको निक्षेपको ब्याजदरलाई अप्रत्यक्ष रुपमा माथि लैजाने आम निक्षेपकर्ताको अपेक्षा समेत थियो । तर, व्यवहार फरक देखिएको छ । निक्षेपको ब्याजदर बढ्नुको सट्टा पुसदेखि लागु हुनेगरी अधिकांश बैङ्कहरुको निक्षेपको ब्याजदर घटेको छ । २७ वटा वाणिज्य बैङ्कमध्ये २६ वटा बैङ्कको बचत खाताको ब्याजदर घटेको छ । मुद्दति खाताको पनि केही बैङ्कहरुको बाहेक ब्याजदर घटेको छ ।