भारतको केरेलास्थित कोचीमा मिस ग्ल्याम वर्ल्ड २०२३ को फाइनल प्रतिस्पर्धामा नेपालकी आयुशा प्याकुरेलले फस्ट रनर उपाधि जित्न सफल भएकी छिन् । १६ जून देखि आरम्भ भएको यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जून २३मा संचालन भएको थियो । प्रतियोगितामा आयुशाले मिस सेन्सेनल अवार्ड पनि जित्न सफल भइन् । मिस ग्ल्याम वर्ल्ड २०२३ को मुख्य उपाधि भने बेल्जियमकी जोम्की तेन्जिनले जितेकी हुन् भने सेकेन्ड रनर अप स्थानमा भारतकी सम्रुद्धि शेट्टी विजेता छनौट भएकी थिइन् । 
व्यवसायिक रनवे मोडलिङमा सक्रिय रहेकी आयुशा प्याकुरेललाई ईभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि.ले मिस ग्ल्याम वल्र्ड नेपाल २०२३ का रुपमा छनौट गरेको हो । ईभेन्ट बेटर ग्यालेक्सी मिस ग्ल्याम वल्र्डका लागि नेपालका लागि आधिकारिक संस्था हो । धीरज तण्डुकार राष्ट्रिय निर्देशक हुन् ।
मिस ग्ल्याम वर्ल्ड २०२३को सहभागिताका लागि भारत जानुपूर्व आयुशालाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सम्बन्धी ओरियन्टसन तथा आधारभूत प्रशिक्षण फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रदान गरेका थिए ।
आयुशाका लागि प्रतियोगिताको वार्डरोब पार्टनर सिआईएफटी हो भने मेकअप पार्टनर ग्लसी गल्र्स । क्लीक क्लीक फोटोग्राफी पार्टनर तथा स्यान्डीज् भिडियो पार्टनर हो । मिस ग्ल्याम वल्र्डमा यस अघि सन् २०२२ मा नेपालबाट इरिना श्रेष्ठको सहभागिता रहेको थियो । प्रतियोगितामा इरिनाले उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नुका साथै मिस ग्ल्याम वर्ल्ड एडोरेबलको अवार्ड पनि जित्न सफल भएकी थिइन् । 


