महेनद्रनगर, चार दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला राउटे परिवारलाई छाक टार्न धौधौ भएको दुखेसो पोख्नुभयो ।
बन्दाबन्दीमा गाउँमा ज्याला मजदुरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मानसिंहले आफूहरु पनि जागिर खान इच्छुक रहेको जानकारी दिनुभयो । “गाउँमा ज्यालादारी गर्न नसकिएपछि केही दिन जङ्गलको कन्दमुललगायतको भरमा बाच्यौँ”, उहाँले भन्नुभयो, “लोपोन्मुख भन्ने तर राहत भने सरकारले दिएन ।”
उहाँले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने मनसायमा रहेको बताउँदै राउटेले गाउँमा मजदुरी पाउन छाडेपछि चिन्तामा रहेको बताउनुभयो । “पहिले त दिनभरि काम गरेर बेलुका चामल किनेर लग्थेँ”, उहाँले भन्नुभयो, “कोरोना कम भए पनि गाउँमा मजदुरी भएन भने कसरी बाँच्ने ?”
भीमदत्त–९ ब्रह्मदेव र खल्लामसेटीमा गरी पाँच परिवार राउटे समुदाय रहेका छन् । डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी आएका राउटे समुदायका लागि समाजमा कुनै खाले अवसर र सुविधा नरहेको अर्का नैनसिंह राउटेको दुखेसो छ । “हाम्रा छोराछोरी पढ्न सकेनन्”, उहाँले भन्नुभयो, “वन जति सामुदायिक वन भए अब परिवारको जोहो कसरी चलाउने भन्ने चिन्ता भइरहन्छ ।” उहाँले सेनाको श्री नं २५ बाहिनी अड्डाबाट मिलेको चामल एक महिनासम्म खान पुग्ने बताउनुभयो ।
“लकडाउनभरि एकपटक मात्रै राहत मिल्यो”, उहाँले भन्नुभयो, “त्यो बेला उधारोमा रासन किनेर खायौँ ।” नैनसिंहले सरकारबाट पाउँदै आएको भत्ताले घरको केही हदसम्म खर्च टर्ने गरेको बताउनुभयो । राउटे समुदायका युवायुवतीलाई आयमूलक काममा लगाउन सीपमूलक कार्यक्रम गाउँमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । “अहिले हामी गाउँमा घर बनाउने काममा बढीजसो ज्यालादारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “बन्दमा भारत गएर मजदुरी गर्ने अवस्था पनि भएन ।”
भीमदत्त–९ का वडाध्यक्ष राम नाथले आफ्नो वडामा एक दर्जन राउटे परिवार रहेको बताउनुभयो । “शुरुमा चार परिवार थिए, सबै वनमा गएर काठका भाँडाकुँडा बनाएर किनबेच गर्थे”, उहाँले भन्नुभयो, “अहिले वनमा आश्रित छैनन् ।” उहाँले सङ्घीय सांसद विकास कोष र जनता आवास कार्यक्रमको साझेदारीमा सात परिवार राउटेलाई पक्की घर निर्माण गरिएको बताउनुभयो ।
“अहिले पनि अरु बाँकी राउटेको घर बन्ने योजनामा छ”, उहाँले भन्नुभयो, “उनीहरुको रोजगारी भनेकै गाउँमा जाला मजदुरी गर्ने हो ।” राउटे परिवारका सदस्यले मासिक रु तीन हजार भत्ता सरकारबाट पाउने गरेका छन् ।

