काठमाडौं, स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलमा तीन दिन देखि सञ्चालित नमुना संयुक्त राष्ट्रसंघ सभा घोषणापत्र जारी गर्दै समापन भएको छ । कक्षा १० का विद्यार्थीहरुद्वारा आयोजित यस कार्यक्रममा ३० विद्यालयका १२० प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । समापन समारोह कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका उद्योग तथा सामान्य प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकारको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य अतिथिका रुपमा दक्षिण एसिया फ्युजमेसिन नेपालका प्रबन्ध निर्देशक पराग श्रेष्ठ र युवा उद्यमी सबिल खानको उपस्थिति रहेको थियो ।
नमुना संयुक्त राष्ट्र संघको एक शैक्षिक मञ्च हो जहाँ विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्छन् र आफ्नो तोकिएको देशको नीति र दृष्टिकोणका साथ वास्तविक विश्व समस्याहरू समाधान गर्ने प्रयास गर्छन्। तीन दिन लगातार रुपमा सञ्चालन भएको यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC), लागुऔषधसम्बन्धी संयुक्त राष्ट्र आयोग (UNCND), लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघ (UNW), संयुक्त राष्ट्र मानव अधिकार परिषद् (UNHRC), संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP), अदालत समिति, अन्तर्राष्ट्रिय प्रेस जस्ता समितिमा रही विश्वका विभिन्न समसामयिक बिषयमा जस्तै इराकमा अमेरिकी आक्रमण, काश्मिर उपत्यकामा गैर-राज्य सशस्त्र समूहहरूको असैनिकीकरण, वैकल्पिक विकास मार्फत लागूऔषध बालीको अवैध खेती उत्पादनमा रोक , प्रजनन स्वास्थ्य, गर्भपतन नीति र नियमहरूको प्रभावहरूमा छलफल, राष्ट्रिय सुरक्षाको नाममा राज्य-प्रायोजित मानवअधिकार हनन, पशु कृषिको वातावरणीय प्रभावका बिषयहरुमा घनिभूत रुपमा छलफल गरेका थिए । विभिन्न राष्ट्रहरूका प्रतिनिधिहरूको भूमिकालाई मूर्तरूप दिँदै विद्यार्थी प्रतिनिधिहरूले वास्तविक विश्वका मुद्दाहरूमा रहेका समस्याका समाधानहरू समेत पहिल्याएका थिए ।
कक्षा १० का विद्यार्थीहरुद्वारा आयोजित यस कार्यक्रममा महासचिवका रुपमा अधिश विनोद पोखरेल र उपमहासचिवमा मृदुभाषिनी सौरभ रहनु भएको थियो । साथै इशान्भी पाण्डेको नेत्तृत्वमा प्रचीता के.सी, नोजोमी विमोली र तमन्ना अग्रवालले कुशलतापूर्वक रसद, सियारा शुभाङ्गिनी बजागाईले सञ्चार, अन्भी श्रेष्ठले वित्त, आहाना महर्जनले मिडिया र हिताशा प्रधानले कार्यक्रमको व्यवस्थापन कुशलतापूर्वक ढङ्गले नेत्तृत्व गर्नुभएको थियो ।
विद्यार्थीहरूलाई कक्षाकोठा र किताबका सीमित घेराभन्दा बाहिर ल्याई विद्यार्थीहरूको जीवनोपयोगी विभिन्न सीपहरू विकास गर्न, उनीहरुको दृष्टिकोण र ज्ञानको क्षितिज फराकिलो बनाउन र विश्वव्यापी समस्या र तिनका समाधानमा अर्थपूर्ण रूपमा योगदान दिनको लागि एउटा महत्वपूर्ण अवसर सिर्जना गर्ने उदेश्यले विद्यालयले स्वस्तिश्री गुरुकुल नमुना संयुक्त राष्ट्र संघ २.० को आयोजना गरेको हो ।
प्रत्येक समितिबाट Best Delegate, honorable delegate, best position paper र verbal mention बिजेताहरुलाई प्रमुख अतिथि, अतिथि, स्वस्तिश्री गुरुकुल नमुना संयुक्त राष्ट्रसंघ महासचिव तथा उप-महासचिवहरुले ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
समापन समारोहलाई सियारा शुभाङ्गिनी बजागाई र आन्भी श्रेष्ठले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो ।


