उदयपुरस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटले जिल्लामा आइतबारदेखि लम्की स्किन रोगबाट प्रभावित गाईभैसीलाई एलएसडी नामक भ्याक्सिन दिन थालेको छ ।
गत चैत महिनादेखि उदयपुरका विभिन्न पालिकामा लम्की स्किन रोगबाट गाईभैसी अत्यधिक प्रभावित भएका थिए भने करिब ६ सय गाईभैसी लम्की स्किनबाट मृत्यु भएको छ ।
गाईघाटस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख रामनारायण साहका अनुसार पालिकासँग समन्वय गरेर बढी प्रभावित क्षेत्रमा भ्याक्सिन दिने काम भइरहेको छ । उदयपुरमा करिब ३५ हजार गाईबस्तु लम्की स्किन रोगबाट पीडित भएकोमा करिब ६ सयको मृत्यु भएको छ । यसमध्ये ९५ प्रतिशत गाईमा लम्की स्किन रोग देखा परेको र पाँच प्रतिशत भैसीमा देखा परेको छ ।
उदयपुरमा सबैभन्दा बढी बेलका नगरपालिकामा यो रोग देखा परेको र सबैभन्दा कम लिम्चुङ्बुङ गाउँपालिकामा देखा परेको जानकारी दिँदै कार्यालयप्रमुख साहले सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा मात्र एक हजार पाँच सय ५६ वटा बस्तु लम्की स्किनबाट बिरामी भएकोमा करिब ६० वटाको मृत्यु भएको छ । ६ सय ५० वटा बस्तुलाई खोप लगाइएको र सबैभन्दा बढी गाई यो रोगबाट प्रभावित भएको बताए ।
अहिले गाईबस्तुमा लम्की स्किन रोगको सङ्क्रमण घटेको जानकारी दिँदै साहले प्रदेश सरकारबाट उपचारका लागि पाँच लाख र केन्द्र सरकारबाट एक लाख बजेट आएपछि रोगबाट प्रभावित बस्तुको उपचार गरिएको जानकारी दिए ।
गाईबस्तुमा यो रोगले सङ्क्रमण गरेपछि दूध घटेको, नाकमा घाउ हुने, शरीरभरि फोका निस्कने, ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, आँखा र नाकबाट पानी बग्ने गर्दछ र अन्त्यमा मृत्युसमेत हुने गरेको छ । लामखुट्टे, भुसुना, किर्नाजस्ता किरा तथा किटाणुहरूबाट यो रोग पशुमा सर्ने गर्दछ ।
वर्षातमा बढी देखिने यो रोग रोगी पशुहरूको सिँगान, दूध र घाउबाट निस्केको पिप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालका प्रमुख साहले बताए ।
खोटाङ र उदयपुर गरी दुई जिल्ला कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल उदयपुरले पालिकास्तरमा रहेका कृषि तथा पशुसेवा शाखालाई सुझाव सल्लाह दिने र विज्ञता सेवा प्रदान गर्ने गरेको जानकारी दिँदै साहले मुख्यतः बजेटको अभावमा समयमा लम्की स्किन रोगको उपचार हुन नसकेको बताए ।
भेटेरिनरी अस्पतालको विकासको काम प्रदेश सरकारले व्यवस्थापन सङ्घीय सरकारले र आधारभूत कुरा स्थानीय तहले हेर्ने गरी काम हुने भएकाले प्रयाप्त मात्रामा बजेटतथा दक्ष जनशक्ति अभावलगायत कारणले काम गर्न समस्या हुने गरेको उनले बताए ।


