इटहरी, नेपालका ७७ मध्ये ७५ जिल्लामा महामारीका रूपमा फैलिएको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोगबाट २४ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
हालसम्म देशभर २४ हजार १२ जनामा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको सुनसरीमा सङ्क्रमितको सङ्ख्या १३ हजार पाँच सय २६ पुगेको छ भने मोरङमा दुई हजार दुई सय ५४ जना सङ्क्रमित रहेका छन् । त्यस्तै धादिङमा २ हजार एक सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।
एक हजार तीन सय ६२ झापा, चार सय ५२ काठमाडौँ, तीन सय ७३ धनकुटा, तीन सय ३४ सङ्खुवासभा, तीन सय ३१ धनुषा, दुई सय ७० कास्की र दुई सय ४२ जना सङ्क्रमित कैलालीमा फेला परेको महाशाखाले जनाएको छ ।
प्रादेशिक हिसाबले हेर्दा सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोसी प्रदेशमा देखिएका छन् । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्र १८ हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यसपछि बाग्मती प्रदेशमा तीन हजार तीन १६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा सात सय ६, सुदूरपञ्चिम प्रदेशमा ६ सय ९२, मधेश प्रदेशमा पाँच सय २१, लुम्बिनी प्रदेशमा चार सय नौ र कर्णाली प्रदेशमा ४९ जनामा डेङ्गी देखिएको महाशाखा बताउँछ । साढे सात महिनाको अवधिमा १४ जना डेङ्गी सङ्क्रमितको मृत्यु भएको छ ।


