Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

त्रिवेणी (रुकुम पश्चिम), आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ ।

जिल्लाको विभिन्न ठाउँमा विद्युत्को पहुँच पुगेपछि गाउँगाउँमा व्यक्तिगत तथा स्थानीय तहको लगानीमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । बाँफिकोट गाउँपालिका–१० ले वडावासीको सहजताका लागि बयाल्या र फेरामा विद्युतीय घट्ट सञ्चालन गरिरहेको छ ।

स्थानीयलाई अन्न पिस्न घण्टौँ समय लाग्ने भएपछि वडा कार्यालयकोे आर्थिक सहयोगमा दुई स्थानमा घट्ट सञ्चालन गरिएको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार वडाले कृषि कार्यक्रमअन्तर्गत फेरामा रू एक लाख ३५ हजार र बयाल्यामा रू दुई लाख ३५ हजार लगानी गरी घट्ट सञ्चालन गरेको हो ।

“घट्ट बनाउँदा वडावासीले पनि श्रमदान गरेका छन् । घट्टको रेखदेख गर्ने, विद्युत् प्रयोग भएबापत महसुल तिर्नेलगायत काम स्थानीयले गर्नेछन्”, वडाध्यक्ष चन्दले भन्नुभयो, “स्थानीयले घट्टमा निःशुल्क अन्न पिस्न पाउनेछन् ।” उहाँका अनुसार घट्ट सञ्चालनमा आएपछि बयाल्या टोलका २० घरपरिवारलाई चार घण्टा हिँडेर अन्न पिस्न जानुपर्ने बाध्यता हटेको छ ।

त्रिवेणी–२ छिन्छरेमा पानी घट्ट सञ्चालन गर्दै आउनुभएका खड्कबहादुर बुढाथोकीलाई विद्युतीय घट्ट गाउँमा सञ्चालन भएपछि पहिले जस्तो अन्न पिस्न चाप छैन् । “पहिले अन्न पिस्न आउनेको सङ्ख्या धेरै हुन्थ्यो । दुई/तीन दिनसम्म पालो कुर्नुपर्थोे । आजभोलि त्यस्तो चाप छैन्”, उहाँले भन्नुभयो, “पहिले दिनमा ४५ पाथी अन्न पिस्थे । पिसेको भाडाबापत लिएको पीठो घरपरिवारले खाएर बच्ने गर्थो । आजभोलि त कहिले घट्ट खाली हुन्छ, कहिले दुई/तीन जना आउँछन् ।”

त्रिवेणी–२ की ७० वर्षीया मनकली ओलीले गाउँमै विद्युतीय घट्ट सञ्चालनमा आएपछि सहजताको लागि अन्न पिस्न विद्युतीय घट्ट जाने गरेको सुनाउनुभयो । “पहिले घरमै अन्न जातोमा पिसेर खाने चलन थियो । विस्तारै पानी घट्टमा पिस्ने चलन आयो । अहिले त टोलमै विद्युतीय घट्ट सञ्चालनमा आइसक्यो”, उहाँले भन्नुभयो । यसबाट समयको बचत हुनुका साथै सहज भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय